काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गरेपछि विहिवार पहिलो बैठक राखेका छन् । उनले मन्त्री र सचिवहरुलाई राखेर गरेको बैठकमा कडा निर्देशन दिएका छन् । मन्त्री ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर कामको योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिन भित्र रिपोर्ट तयार गर्न पनि निर्देशन गरेका छन् ।

‘पहिले सडक पिच गर्ने, अनि पोल गाड्न अर्को निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो चल्दैन’ प्रधानमन्त्री ओलीले भने ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनु पर्यो । अव हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सहउपयोगको नीति अपनाउनु प¥यो ।’उनले फागुन पछि काठमाडौंका सडकमा खाल्डा देखिन नहुने पनि बताएका छन् ।

‘सरकारले चाहेपछि त एक हप्तामा सडक चिल्लो हुँदो रहेछ नि भनेर जनताले भनिरहेका छन्’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘एक हप्तामा सवै चिटिक्क पार्न सक्नेले सधैं चिटिक्क पार्न किन तत्परता नअपनाउने रु’ प्रधानमन्त्री ओलीले आगामी फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौँ उपत्यकाका सडकमा खाल्डा देखिन नहुने बताए ।

यो पनि समाचार, स्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला रु सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु स्वाभाविक हो तर तीन किलोमिटर सो सडक पार गर्न एक घण्टाभन्दा बढी लाग्ने गरेको छ ।

तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला वा लोकन्थली जाने चालक तथा यात्रुले दैनिक यही नियति भोग्नु परिरहेको छ । यो सडकमा छोटो बाटो पार गर्न पनि घण्टौँ लाग्ने गरेको छ । जडीबुटीमा रहेको सवारी जामका कारण त्यहाँबाट भक्तपुर वा पेप्सीकोलातर्फ जाने सवारीसाधन लामो समय रोकिने गरेका छन् ।

बर्सेनी काठमाडाँै उपत्यकाका सडकमा थपिएका सवारीसाधनका कारण उपत्यकाका विभिन्न चोकहरु जस्तै यस चोकमा सवारी चाप बढ्दो छ । काठमाडौँका कतिपय चोकहरुमा जाम हुँदा त्यसको विकल्प भए पनि यस चोकको विकल्प नहुँदा चालक र यात्रु हैरान भएका हुन् । सरकारले ललितपुरतर्फ जाने सवारीसाधनलाई लोकन्थलीबाट ‘डार्भशन’ गरेर मनोहरा करिडोर पठाउने गरे पनि सवारी जाम त्यति कम भएको पाइँदैन ।

यस चोकमा ‘फ्लाई ओभर’ वा ‘अन्डर पास’ निर्माण गर्ने सरकारले योजना बनाए पनि निर्माणको काम अघि बढिसकेको छैन । माइतीघर–सूर्यविनायक सडक विस्तार गरेको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले यहाँ अन्डर पास निर्माणमा चासो देखाइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञावलीले बताए । निवर्तमान मन्त्री रघुवीर महासेठ भने जाइकासँगको सहकार्यमा निर्माण गर्नेभन्दा पनि सरकार आफैँले निर्माण गर्ने योजना रहेको बताएका थिए । जाइका र नेपाल सरकार दुवैले आ–आफ्ना हिसाबले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारिसकेका छन् । सरकारले आफैँले पनि निर्माण गर्न सक्ने उनले बताए ।

Comments