नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का कर्णाली प्रदेश संयोजक सरोज गोसाईले नेपाली सेना र सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा तैनाथ राखेर खुला सीमा बन्द गर्नुपर्ने बताउनुभएको छ ।

भारतले गरेको सीमा अतिक्रमणका विरोधमा आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेमकिपा कर्णाली प्रदेशद्वारा आयोजित विरोधसभामा उहाँले अगाडि भन्नुभयो, “अब नेपालले नयाँ संस्करणको नक्सा प्रकाशित गर्नुपर्छ ।”

सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य सर्जु फसिकवाले लिपुलेकको विवाद पटकपटक देखापरे पनि कुनै पनि सरकारबाट समस्या समधान हुन नसकेको टिप्पणी गर्नुभयो । नेपालले कूटनीतिक तवरबाट समस्या नगरेसम्म यसले सीमा अतिक्रमण गरिरहने र विवाद कायम भइरहने उहाँको जिकिर थियो ।

सीमा समस्याको दीर्घकालीन समाधान खोज्न अनेरास्ववियूको आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ स–सङ्गठन अनेरास्ववियूले कालापानीलगायतका सीमा समस्या तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज ज्ञापनपत्र बुझाउँदै भारतले हालै सार्वजनिक गरेको नक्सा सच्याउनका लागि तत्काल कूटनीतिक पहल गर्न र नेपालको एक इञ्च पनि जमीन नछाड्न आग्रह गरेको हो ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीले शनिबार आयोजना गर्नुभएको सर्वपक्षीय बैठकबाट सीमा समस्या समाधानका लागि राष्ट्रिय सहमति बनेको भन्दै सरकारले कूटनीतिक प्रयास शुरु गरिसकेको बताउनुभयो ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालीपानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्ने कुरामा कुनै दुविधा नरहेको भन्दै मन्त्री ज्ञवालीले परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट समस्याको समाधान गर्ने र आवश्यक परेमा त्योभन्दा उच्चस्तरीय तहबाटै भारत सरकारसँग कूटनीतिक संवाद गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्नुभएको थियो ।

अनेरास्ववियूले तथ्य र प्रमाणका आधारमा नेपालको अभिन्न भूभागका रुपमा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको भारतीय दाबीलाई उच्चस्तरीय वार्ता, संवादमार्फत कूटनीतिक तवरले सदाका लागि सीमा समस्या समाधान गर्न, नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मीलाई तत्काल फिर्ता पठाउने वातावरण बनाउन मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएको थियो ।

अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जीत तामाङले सीमा समस्याको दीर्घकालीन समाधानका लागि वैज्ञानिक सिमाङ्कन प्रणाली कायम गर्न र सीमा क्षेत्रमा राज्यको बलियो र प्रभावकारी उपस्थिति सुनिश्चित गर्न माग गरेको थियो । अनेरास्ववियूले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा नागरिकलाई जागरुप गराएकामा मन्त्री ज्ञवालीले धन्यवादसमेत दिनुभएको थियो ।

Comments