नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो ।

प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको अथ्र्याउनुभयो । “सरकारले लचिलो भएर मात्रै उहाँहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो ।”

उहाँले उपनिर्वाचन सफल बनाउन नेता÷कार्यकर्तालाई लाग्न अनुरोध गर्न आफू यहाँ आइपुगेको बताउनुभयो । “उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ”, उहाँले भन्नेुभयो, “सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।” नेकपा दाङले आज तुलसीपुरमा आयोजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।

कार्यक्रममा बोल्दै प्रचण्डले निवर्तमान सभामुख कृष्णवहादुर महरा प्रकरण बारे सार्वजनिक रुपमा मुख खोल्नु भएको छ । महरालाई दोषी किटान गर्दै उहाले दोष अनुसारको सजाय हुनै पर्ने बताउनु भयो । ‘उहाँ (महरा) त्यो प्रकरणमा दोषी हुनु भएकै हो,’ ‘यसर्थ उहाँलाई उहाँको कसुर अनुसारको सजाय हुनु पर्छ, यो मैले मात्रै हैन, सिंगो राष्ट्रले नै अपेक्षा गरेको कुरा हो।’

उक्त प्रकरण बाहिर आएलगत्तै आफ्नो सोधपुछका क्रममा महराले आँफूलाई ढाँटे पछि झनै यसको पुष्टि भएको समेत दाहालले स्पष्ट पार्नु भयो । यो घटना बाहिर आएपछि मैले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्य तथ्य बुझ्न महरा कहाँ पठाएको र महराले त्यो बेला ढाँटेको दाहालले बताउनु भयो ।

‘मैले सत्य तथ्य के हो भनेर नारायण कमरेडलाई पठाएको थिएँ,’‘तर महराले त्यो बेला ढाँट्नु भयो र झनै उहाँ दोषी हुनुहुन्छ भन्ने निष्कर्षमा पुग्दै गएँ।’

थप अनुसन्धानका क्रममा महराको गल्ती सावित हुँदै गएपछि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसंग आँफूले के गर्ने भनेर छलफल गरेको दाहालको भनाइ छ। ‘उहाँको गल्ती सावित हुँदै गएपछि उहाँलाई मैले नै राजीनामा दिनुस् भनेर भनेको हुँ,’दाहालले भन्नु भयो ‘उहाँले राजीनाको बिषयलाई सहर्षै स्वीकार्नु भयो र राजीनामा दिनु पनि भयो।’

कार्यक्रममा नेकपाका जिल्ला इञ्चार्ज जीवन गौतमका अनुसार प्रचण्डसँगै पूर्वसभामुख एवं पार्टीकी नेतृ ओनसरी घर्ती, पार्टी प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेल पनि दाङ आइपुग्नुभएको छ । नेकपाले पार्टी एकतापछि अध्यक्षको सहभागितामा पहिलोपटक दाङमा बृहत कार्यकर्ता प्रशिक्षण आयोजना गर्नलागेको हो । प्रशिक्षण कार्यक्रम पार्टी एकता, पार्टीको नीति, विचार, आसन्न उपनिर्वाचनलगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।

देश नंं ५ को राजधानीको फैसला जनताले गर्नेछन् ः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भौगोलिक बनावट सुहाउने गरी प्रदेश नं ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने बताउनुभएको छ ।

नेकपा कोहलपुरले आयोजना गरेको विजयादशमी दिपावली तथा छठ पर्वका अवसरमा आयोजित कार्यक्रममा उहाँले जनताको फैसला नै अन्तिम हुने भएकाले त्यसतर्फ जनप्रतिनिधिको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

“प्रदेश नं ५ को राजधानी प्रदेशको केन्द्रमै पर्नेगरी हुनेछ”, प्रचण्डले भन्नुभयो, “प्रदेशको केन्द्र पर्ने गरी नयाँ ठाउँ विकास गरे झन राम्रो हुनेछ अन्तिम फैसला जनताको नै हुनेछ ।” उहाँले आफ्नो पार्टीबाट वडा नं ६ मा उम्मेदवार बन्नुभएका रामशरण थारुको जीत सुनिश्चित रहेको बताउनुभयो ।

कोहलपुर–६ कमिटीका अध्यक्ष लक्ष्मण पाण्डेको प्रस्तावमा थारु सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका थिए । थारु गत स्थानीय चुनावमा पनि वडा अध्यक्षका उम्मेदवार थिए । रामसोहन थारुको गत मङ्सिर ९ गते हृदयाघातका कारण निधन भएपछि वडा अध्यक्ष पद रिक्त भएको हो ।

अघिल्लो निर्वाचनमा एक हजार ९६४ जना मतदाता रहेको उक्त वडामा हाल मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार राम सोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए ।

राजधानी पायक पर्ने स्थानमा हुनुपर्छ : उद्योगी व्यवसायी

नेपालगञ्जका उद्योगी व्यवसायीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेश राजधानी पायक पर्ने स्थानमा हुनुपर्ने माग गरेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले मङ्गलबार आयोजना गरेको स्वागत तथा समसामयिक विषयमा छलफल कार्यक्रममा उद्योगी व्यवसायीहरू अहिलेको अस्थायी राजधानी बुटवल पायक नपरेको बताएका हुन् ।

“बरू काठमाडौँ राजधानी ठिक थियो, बुटवल त गाह्रो भयो”, नेपालगञ्ज उद्योग वाणिज्य सङघका अध्यक्ष नन्दलाल वैश्यले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, “प्रदेशको स्थायी राजधानी सकेसम्म नेपालगञ्ज नै हुनुपर्छ नभए सबैलाई पायक पर्ने स्थानमा हुनुपर्दछ ।”

उहाँले विगतमा पूर्वप्रधानमन्त्री दाहालले नेपालगञ्जको अभिभावक बन्ने आश्वासन दिएको सम्झना गराउँदै त्यसलाई व्यवहारमा ल्याउन अनुरोध गर्नुभयो ।

उद्योगी व्यवसायीको गुनासोको जवाफ दिँदै नेपाल पूर्वप्रधानमन्त्री दाहालले सबैलाई सहज हुने र सबैको निम्ति सुविधा हुने ठाउँमा प्रदेशको राजधानी तोकिनु पर्ने बताउनुभयो । “त्यसको लागि पहल कदमी भइराखेको छ, यो मैले तपाइँको अगाडि आश्वासन दिनमात्रै भनेको होइन”, उहाँले भन्नुभयो, “मेरो, प्रधानमन्त्री र पार्टीका अरु नेताहरुबीचमा कुरा हुँदा पनि सैद्धान्तिक सहमति भएको छ, अब व्यावहारिक रूप दिने मात्रै बाँकी छ ।”

उहाँले नेपालगञ्ज नेपालको राजनीतिक परिवर्तनको एउटा ऐतिहासिक केन्द्र रहेकोले नेपालगञ्ज कमजोर हुनु हुँदैन भन्ने मान्यताका साथ अघिल्लो पटक सुशील कोइराला नभए पनि आफूलाई अभिभावक मान्दा हुन्छ भनेको बताउनुभयो । उहाँले त्यसमा अहिले पनि उही दृढताको साथ प्रतिबद्ध रहेको जानकारीसमेत गराउनुभयो ।

“मेरो हेराइमा नेपालगञ्जलाई कसैले कमजोर पारेर कमजोर हुने स्थितिमा छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “हिल्सा–जमुनाह रोड ठूलो भइसकेपछि नेपालगञ्ज फेरि एकपटक ठूलो व्यापारिक तथा पर्यटकीय केन्द्र हुनेवाला छ । धेरै चिन्तित हुनुपर्ने स्थिति नेपालगञ्जको होइन ।”

नेपागञ्ज उद्योग वाणिज्य सङ्घा तर्फबाट अध्यक्ष वैश्यले पूर्व प्रधानमन्त्री दाहाललाई नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाइनु पर्ने, नेपालगञ्जलाई औद्योगिक नगरका रूपमा विकास गर्नुपर्ने, नेपालगञ्जमा प्रदर्शनी केन्द्रको लागि जग्गा उपलब्ध गराउनु पर्ने लगायतका सात बुँदे मागपत्र बुझाउनु भएको छ ।

Comments