काठमाडाँै जिल्ला अदालतले करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । उहाँलाई डिल्लीबजार कारागारमा राखिने छ । महराका तर्फबाट ३२ अधिवक्ताले बहसका लागि नाम लेखाएका थिए । आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि तय गरिएको थियो । महराको अदालती बयान शुक्रबार भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरेको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई करणीको प्रयास गरेको अभियोगमा गत असोज १९ गते जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगबारे थप अनुसन्धानका लागि महरालाई थुनामा पठाइएको हो । महरा कसुरदार हो वा होइन भन्ने कुरामा थप अनुसन्धानपछि मात्र अदालतले फैसला गर्नेछ ।

आदेशको विवरण यस्तो छ :

‘मुद्दा अनुसन्धानको क्रममा गराएको मौका तहकिकात सर्जमिन मुचुल्का लगायतका कागजातलाई मुद्दाको पुर्पक्ष गर्दा थुनछेक आदेश गर्ने प्रयोजनका लागि प्रमाणमा लिन सकिने भएकाले पीडितले दिएको जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा अनुसन्धानको क्रममा कागज गर्ने व्यक्तिहरुको घटना विवरण कागज, अनुसन्धान अधिकारीको प्रतिवेदन बेहोरा तथा पीडितले प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीसमेतको प्रहरी टोलीसमक्ष र हाम्रोकुरा डटकमका प्रधान सम्पादकसमक्ष वारदातका सम्बन्धमा बताएको विवरण र खिचिएको भिडियोमा उल्लेख गरेको बेहोरा समेतको तत्काल प्राप्त प्रमाणको आधारमा यी प्रतिवादीले आरोपित कसुर नगरेको भनी अहिले नै निष्कर्षमा पुग्न मिल्ने देखिएन ।

माथि उल्लेखित गरिएको आधार र कारणबाट संघीय संसदको सम्माननीय सभामुखजस्तो गरिमामय पदमा आसिन प्रतिवादी कृष्णबहादुर महराले आफ्नै कार्यालयमा कार्यरत पीडितलाई  करणीको उद्योगजस्तो गम्भीर प्रकृतिको कसुर गरेको भनी निजउपर लगाइएको अभियोग, उक्त अभियोग प्रमाणित भएको अवस्थामा कानुन बमोजिम निज प्रतिवादीलाई हुनसक्ने सजायको मात्रा तथा मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ६७ मा भएको कानुनी व्यवस्था समेतको आधारमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादीलाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि थुनामा राख्न उक्त संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालय डिल्लीबजारमा पठाइदिनु भनी मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ७९ बमोजिम गरिदिएँ ।’

Comments