काठमाडौं । उच्च अदालत पाटनको हेटौंडा इजालसले शालिकराम पुडासैनी प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको पक्षमा सुनुवाई गरेको छ । सञ्चारकर्मीद्वय लामिछाने र कँडेलले जिल्ला अदालत चितवनको आदेश विरुद्ध पेस गरेका निवेदनमा उच्च अदालत पाटनको हेटौंडा इजालसले उनीहरुको पक्षमा विहीबार सुनुवाई गरेको हो ।

उच्च अदालतकाे याे आदेशपछि लामिछानेले विदेश जान र कार्यक्रम चलाउन पाउने छन्। जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा दिएको निवेदनको दोस्रो सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय सुनाएको हो। उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको यस्तो आदेश दिएको हो।

जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिएका थिए। लामिछानले निवेदन दिएको भोलिपल्ट भदौ २४ गते सरकारी पक्ष पनि अदालत पुगेको थियो। दुवैको निवेदनमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरेकाे थियाे ।

शालिकराम पुडासैनी प्रकरणमा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता लामिछाने र उनका सहकर्मी कँडेल क्रमशः पाँच लाख र तीन लाख धरौटीमा रिहा भएका थिए । यसै प्रकरणमा शालिकरामकी गर्लफ्रेण्ड भनिएकी अस्मिता कार्की ‘रुकु’ भने साधारण तारेखमा रिहा भएकी थिइन् ।

Comments