निकै तामझामका साथ चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमण सम्पन्न गराएर नेपाल सरकारले आफ्नो क्षमता देखाएको छ । यस भ्रमणबाट राजनीतिक, आर्थिकलगायतका विषयमा कति फाइदा पाउला त्यो पछि मुल्यांकन हुँदै जाला, तर यस भ्रमणले नेपालले विश्व नेतालाई दिन सक्ने सुरक्षालाई भने स्पष्ट पारेको छ । शनिबार नेपालको राजकीय भ्रमणमा आएका सी आइतबार स्वदेश फर्किसकेका छन् । उनको भ्रमणका लागि सरकारले गरेको तयारी जति तारिफ योग्य छ, त्यो भन्दाबढी सुरक्षाकर्मीको भूमिका अतुलनीय छ ।

नेपालले दक्षिण एशियाली सहयोग संगठन (सार्क), बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)जस्ता क्षेत्रीय सम्मेलन कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो क्षमता देखाइसकेको छ । भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण पनि पटक पटक गराएको नेपालले सी जिनपिङ जस्ता विश्व चर्चित र सुरक्षा थ्रेड मानिएका नेताहरुको भ्रमण गराउन सक्ने बाह्यमुलुकको आशंका देखिन्थ्यो । जस कारण सी नेपाल आउनु अघि करिब दुई हजार चिनियाँ सुरक्षाकर्मी आएर सुरक्षा अवस्थाको अवलोकन र जासुसी गरेका थिए ।

यद्यपी चिनियाँ राष्ट्रपति सीको सम्पूर्ण सुरक्षाको प्रवन्ध भने नेपाली सुरक्षाकर्मीले नै गरेका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा गरेको सुरक्षा व्यवस्थाले अब विश्व नेतालाई नेपाल सुरक्षा दिन सक्छ भन्ने सन्देश दिएको छ । सीको दुई दिने नेपाल बसाइमा चुस्तदुरुस्त सुरक्षा व्यवस्थाको अहिले तारिफ भइरहेको छ । विशेष गरी नेपाली सेनाको तारिफ भइरहेको छ । स्थल र हवाइ गस्तीबाट सीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले नेपालको शानलाई उँचो राख्ने काम गरेको भन्दै सामाजिक सञ्जालमा तारिफ भइरहेका छन् ।

कुनै पनि शक्ति राष्ट्रका नेता तथा विश्वमा चर्चित रहेका व्यक्तिलाई सुरक्षा दिनमा नेपाली सुरक्षाकर्मी सक्षम रहेको सन्देश दिइएको सी भ्रमणले अब कुनै पनि नेताहरु नेपाल आउन सुरक्षाकै कारण नपन्छिने अपेक्षा गरिएको छ । स्वदेश फर्किन नहतारिएका सीको व्यवहारलाई नेपाली सुरक्षाकर्मीले प्रदान गरेको सुरक्षा व्यवस्थालाई मान्न सकिन्छ ।

विदाइका लागि विमानस्थलमा पुगेका सर्वसाधारणदेखि समकक्षी विद्यादेवी भण्डारीसम्मलाई निकै शान्त र शालिन भावमा नहतारिकन हात हल्लाउँदै विदा भएका चिनियाँ राष्ट्रपति सीले आफूलाई नेपालमा कुनै सुरक्षा खतरा नरहेको र यसका लागि यहाँ सुरक्षाकर्मीले प्रदान गरेको सुरक्षा व्यवस्थाप्रति विश्वास र भरपर्दाे रहेको सन्देशका रुपमा धेरैले लिएका छन् ।

Comments