नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल अब भूपरिवेष्ठि राष्ट्र नरहने भन्दै केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन तत्काल सुरु हुने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा भएको भेटवार्ता र सोल्टीमा आयोजित रात्रीभोज दुबैमा सीले रेलमार्गको संभाव्यता अध्ययन सुरु हुने बताएका हुन् । सोल्टीमा आयोजना गरेको विशेष रात्रीभोज समारोहलाई सम्बोधन गर्दै सीले भने, ‘नेपाल र चीनबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध छ। हामीबीच कुनै समस्या छैन, केबल मित्रता मात्रै छ।’

उनले नेपालको राजनीतिक स्थायित्वप्रति प्रशन्नता व्यक्त गर्दै भने, ‘यहाँको सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्त खुशी भएको छु।’ उनले नेपाल चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजान आफू काठमाडौं आइपुगेको उल्लेख गर्दै भने, ‘म दुई देशको सम्बन्धको नयाँ खाका कोर्न यहाँ आइपुगेको छु। मलाई आशा छ आगामी दिन दुई देशबीच अझ घनिष्ट सम्बन्ध र बलियो सहकार्य हुनेछ।’

राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकाेमा आफूलाई अत्यन्त खुशी लागेको बताए। उनले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक सम्बन्ध अझ झाँगिएको बताए।

नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उनले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गरे। ‘हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ’, उनले भने।

चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारी र आफू विकासका चुनौतीलाई सामना गर्दै अघि बढिरहेको बताए । उनले, ‘भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ। बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ। भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ।’

Comments