तपाईलाई नेपालका केहि पुराना ब्लगरहरुका बारेमा थाहा छ ? गणेश कार्की त्यस्तै एउटा पुराना नेपाली ब्लगरहरु मध्येमा पर्छन्, जो दशक अगाडी देखि नेपाली ब्लगिङमा सक्रिय छन् । त्यस्तै ब्लगिङमा व्यवसायिकरुपमा सक्रिय रहने थोरै नेपालीहरु मध्येमा पनि उनी पर्छन् ।

उनको पानीफोटो डट कम कुनै बेला नियमित अपडेट हुन्थ्यो । जति बेला नेपाली अनलाइन भर्खरै बामे सरेर उभिने तरखर गर्दै थियो, त्यति बेला पानीफोटोले नेपाली ब्लगिङमा आफ्नो पहिचान बनाउँदै थियो । अहिले पानीफोटो डट कम हेर्दा यो धेरै समय देखि अपडेट भएको देखिदैन ।

तर ब्लगरका रुपमा आफु अझै सक्रिय भएको गणेश बताउँछन् । नेपाली ब्लगिङ र ब्लगरका बारेमा उनीसँग केहि कुरा गरेका छौँ, यसले नेपाली ब्लगिङ क्षेत्रमा चासो राख्नेहरुले केहि जानकारी पक्कै पाउँनेछन् ।

ब्लगिङ कहिले देखि सुरु गर्नु भयो ? किन तान्यो ब्लगिङले ?

ब्लगिङ मैले २०६५ सालमा सित्तैमा पाइने वर्डप्रेस डट कमबाट सुरु गरेको थिएँ तर ब्लग सुरु गर्नुको पछाडी मेरो भिन्न पृष्ठभुमी कारण थियो । म लेख्न रहर गर्थेँ । १२ कक्षा सक्न लाग्दा देखि नै हवाइ पत्रिका निकाल्थेँ । बिएस्सी पढ्दा अस्कलबाट द्धैमासिक पत्रिका पनि निकाल्यौँ तर समय फेरियो । हवाइ पत्रिकाको युग सकियो । ब्लगको सुरु भयो । म ब्लग तर्फ तानिएँ । सायद आफुले लेखेको कुरा संसारभरबाट हेर्न सकिने भन्ने कुरा र मेरो ब्लग छ भन्दा अलिक जान्ने सुन्ने भइने भन्ने आडम्बरले पनि तान्यो कि ।

सित्तैमा पाइने ब्लगबाट सुरु गरेर यता पैसा तिरितिरी बनाउँनु पर्ने ब्लगमा किन सर्नु भयो ?

सित्तैमा पाइने त्यो ब्लगमा आफ्नो ब्लगका पछाडी उनीहरुको वर्डप्रेस डट कम झुन्ड्याउँनै पर्ने शर्त हुन्थ्यो । पाठकहरुलाई त्यो सम्झिन लामो र झर्कोलाग्दो हुन्थ्यो भने मलाई पनि त्यो ब्लगबाट व्यवसायिक ब्लगर हुन सिमितताहरुका बारेमा थाहा भयो । त्यस पछि आफ्नै डोमेन र होस्टिङ किनेर पानीफोटो डट कम सुरु गरेँ ।

तपाई आइटीको विद्यार्थी होइन, तर कसरी यसको प्राबिधिक कुराहरु मिलाउँनु भयो ?

ब्लगका प्राबिधिक कुराका लागि मसँग दुइवटा विकल्प थिए, या त पैसा तिरेर ब्लग डिजाइन गर्न लगाउँने या कम्मर कसेर आफैले सिक्ने । मैले दोस्रो विकल्प छानेँ । सिक्नमा धेरै रातहरु जागै बिताएँ । सामान्य प्राबिधिक कुरा भए पनि अहिले जस्तो अनलाइनमा धेरै सिक्ने कुराहरु नपाइने भएकाले साना भन्दा साना कुरामा पनि धेरै दुख भोगेँ । र, राम्रो कुरा चै, ब्लगका लागि त्यस्तो अफ्ठ्यारा प्राबिधिक कुरा चाहिदैनन् रहेछन् ।

तपाईले ब्लग सुरु गर्नु भएको एक दशक बढि भयो, के के परिवर्तन देख्नु भयो ?

मैले ब्लग लेख्न सुरु गर्दा यो बारेमा थाहा पाउँने मान्छेहरु नै कम हुन्थे भने नेपालीहरुको इन्टरनेटमा पहुँच पनि एकदमै कम थियो ।

पछि एक्कासी मानिसहरुले ब्लगको कमाइको सम्भावनाका बारेमा बुझे । नेपालीहरुको इन्टरनेट पहुँच पनि बढ्यो । त्यसपछि तुरुन्तै पैसा कमाउँने ध्याउन्नमा ब्लगमा असाध्यै धेरै मानिसहरुको प्रवेश भयो । जसमा एकदमै नगन्य मात्रै ब्लगिङ बिधाको मर्यादा जोगाउँन सक्ने थिए र एकदमै धेरै ब्लगिङका नाममा स्पाम फैलाउँने मात्रै भए । त्यसको परिणाम के भयो भने म ब्लगिङ गर्छु भन्नेहरु पनि ब्लगिङबाट टाढिए । ब्लगिङ गर्नु विशेष कुरा हो भन्ने आममानिसको धारणा पनि फेरियो ।

अनि अहिले तपाई कस्तो ब्लग गर्दै हुनुहुन्छ त ?

म यदाकदा पानीफोटोमा पनि लेख्छु तर विभिन्न कारणले त्यसमा नियमित ब्लगिङ गर्न सकिन । त्यसपछि अनलाइनका कुराहरु जान्न अंग्रेजी जान्नु बाध्यकारी नहोस् भनेर आफुले जानेका सामान्य कुराहरु नेपाली टेक ब्लगमा लेख्छु । उज्यालो पाटो डट कममा जीवनको उज्यालो पाटो र सकारात्मक चिन्तनका बारेमा लेख्छु ।

भने पछि ब्लगिङ चटक्कै छोड्नु भएको छैन ?

डोमेन फेरियो होला । नियमितता अलिक कम भयो होला तर पनि ब्लगिङतिरको आकर्षण र चासो भने कायम नै छ । यसैले कुनै न कुनै रुपमा ब्लगिङतिर जोडिएको नै छु ।

केवल गरेको छु भन्नका लागि मात्रै गरिरहनु भएको हो ब्लगिङ ?

त्यस्तो पनि होइन । सम्भावनाहरु खोजिरहेकै हुन्छु । यसो त संसारभर ब्लगरहरुको नाम र दाम लोभलाग्दो छ तर नेपालमा त्यस्तो छैन । अब इन्टरनेटको पहुँच राम्रो भएको छ । अरु देशका ब्लगर जस्तै हामीले पनि गतिलोसँग ब्लगिङ गर्ने हो भने नाम, दाम र भविष्य ब्लगिङमा पनि हुन सक्छ ।

ब्लगिङको सम्भावना प्रचुर छ तर हामीले वास्तविक कमाइ र वास्तविक सम्भावनासम्म पुगिरहेकै छैनौँ । हाम्रोमा नयाँ र बिचमा भएको अलिक बढि स्पामका कारण छवि बनाउँन चुनौति छ तर त्यो चुनौतिको सामना गर्ने हो भने सम्भावना छ ।

नयाँ ब्लगरहरुलाई के भन्न चाहनुहुन्छ ?

आफ्ना लागि लेख्नुहोस् । ब्लग लेख्दा आफु प्रति इमान्दार बन्नुहोस् र त्यसले कुनै आर्थिक उपार्जन गर्न सक्छ भने त्यो तिर अगाडी बढ्न नहिच्किचाउँनुहोस् ।

अन्य सामान्य सरसहयोग चाहिएमा मलाई फेसबुकमा भेट्न सक्नुहुनेछ ।

Comments