अरु बेला भीडभाडले आवागमनमा असर पर्ने उपत्यकाको सडकमा अहिले असाध्यै कम सवारी गुडिरहेका छन् । निजी सवारीसाधन अलिक बढी चलेका भए पनि सार्वजनिक सवारीसाधन कम चल्दा राजधानीले थकाइ मारेजस्तो देखिन्छ । राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडेमेल चलिरहेको छ ।


राजधानीको मुटुमा रहेको तीनकुनेलाई नयाँ आकार दिन रामचन्द्र बस्नेत र उहाँको समूह लागिपरेको छ । कल्की, पाम, धुपीका बिरुवा रोपिएका छन् । विभिन्न प्रजातिका फूल रोपिएको छ । काठमाडौँ महानगरका कर्मचारी पनि उत्तिकै मेहनत गरिरहेका छन् । कोही ढुङ्गा मिलाइरहेका छन् भने कोही बिरुवा रोपिरहेका छन् । “त्यो बिरुवा अलिक ठाडो बनाएर रोप्नु प¥यो”, दुबोको चपरी मिलाइरहेका एक कामदारले आफ्ना सहकर्मीलाई भने, “सबै बिरुवा र फूल मिलाएर रोप्नुपर्छ के ? अनि पो राम्रो हुन्छ त ।”

काठमाडौँ महानगरपालिकाको बा १ ग ३३९९ नम्बरको ट्याकङ्र उनीहरुको अगाडि रोकियो । भर्खरै टाँसिएको दुबोको चपरीमा पानी सिञ्चन गर्न थाल्यो । “अलिक मिलाएर है, अलिक मिलाएर, ट्याङ्करका चालकले पानी सिञ्जन गर्न लाग्दै गर्दा अर्का कामदारले भने, राम्रो हुनुपर्छ, पानी हाल्दा बिरुवा ढल्केलान् नि ! आफ्नै छोराछोरीजस्तै माया लाग्छन् यी बिरुवाका पनि”, परिचय दिनभन्दा आफ्नै काममा व्यस्त देखिए ती कामदार ।


तीनकुनेको खाली जग्गालाई बगैँचा बनाउन शिवपुरी नर्सरीका बस्नेत र उहाँको आठ जनाको समूह खटिएको छ । “सात हजार चपरी त लाग्ला कि ?”, उहाँले भन्नुभयो, “कूल छ हजार चपरी लाग्ने अनुमान भए पनि मिलाएर लाग्दा थप एक हजार बढी लाग्ने देखिएको छ ।”

दुबोको चपरी राख्न नेपाली सेनाका जवान पनि खटिएका छन् । महानगरका कर्मचारी, दैनिक ज्यालादारीमा ल्याइएका कामदार पनि छन् । “चाडबाडको मौकामा कामदार पाउन गाह्रो छ, तर यो जसरी भए पनि पूरा गर्नैपर्ने छ”, बिरुवा रोपिरहेका एक मजदूरले टाउको ठाडो नपारिकन नै भने ।

त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो । आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । सो क्षेत्रमा सुरक्षासहित आवश्यक तयारीस्वरुप रिहर्सलसमेत भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । उहाँको सुरक्षामा काठमाडौँको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ । नेपाली सेनाका बलाधिकृत रथीको नेतृत्वमा समिति बनाएर सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

उक्त समितिले विभिन्न चरणमा बैठक बसेर आवश्यक तयारी गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । जसले मुख्य सुरक्षाको जिम्मा लिने छ । काठमाडौँका प्रजिअ दाहालले तोकिएको मापदण्ड र सिद्धान्त अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले ललितपुर र भक्तपुरका सुरक्षाकर्मीसँगसमेत समन्वयमा तयारी गरिएको बताउनुभयो ।

राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षामा नेपाल प्रहरीको तर्फबाट नेतृत्व लिनुभएका प्रहरी अतिरीक्त महानिरीक्षक पुष्कर कार्कीले अन्तर्राष्ट्रिय विशिष्ट व्यक्ति आउँदा अपनाउने आवश्यक सुरक्षा व्यवस्था सबै अवलम्बन गरिएको जानकारी दिनुभयो । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ । तेइस वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ ।

राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ । ठाउँठाउमा स्वागतद्वार बनाउने, सडक पुनःनिर्माणलाई तीव्रता दिने पार्कश आकर्षित गर्ने फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्र रुपमा भइरहको छ । विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालमा मौलिक संस्कृति झल्कने तस्बीर सहितको फ्लेक्स बनाएर राखिएको छ । राष्ट्रपति सीलाई नागरिकस्तरबाटसमेत भव्य स्वागतको तयारी छ ।

यो पनि पढ्नुहोस : राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवद्र्धन हुने

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनबीच प्राचीन सम्बन्ध जोड्ने बौद्ध दर्शन र संस्कृतिलाई थप प्रवद्र्धन गर्ने देखिएको छ । बौद्ध दर्शनका शान्ति र अहिंसाका शिक्षाले यी मुलुकलाई विगतदेखि नै नजीकबाट जोड्दै आएकामा यस भ्रमणले नेपालका बौद्ध सम्पदाले पनि अन्तरराष्ट्रिय तहमा महत्व पाउने आशा गरिएको छ । राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण हुँदैछ ।

करीब एक अर्ब ४० करोड जनसङ्ख्या भएको छिमेकी चीनमा करीब ४० करोड जनसङ्ख्या बौद्धधर्मका अनुयायी छन् । नेपालमा भने करीब तीन करोडको जनसङ्ख्याको करीब १० प्रतिशत मात्र बौद्ध अनुयायी छन् । बौद्ध साहित्यमा समावेश गरिएका बौद्ध उपदेश र दार्शनिक पक्षको गहिरो अध्ययनले समाजमा शान्ति तथा सहअस्तित्वपूर्ण वातावरण कायम गरी विश्वकल्याणका लागि प्रेरित गर्ने हुँदा त्यसतर्फ अनुयायी आकर्षित छन् ।

अखिल नेपाल भिक्षु महासङ्घका केन्द्रीय सदस्य भिक्षु तपस्सी धम्मले बुद्ध जन्मथलो लुम्बिनीको विकासमा चीन सरकारले सहयोग गरिरहेको स्मरण गर्दै चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको भ्रमणले बौद्ध सम्पदाको प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकको समग्र विकास र समृद्धिका लागि विभिन्न परियोजनामा छलफल तथा केही सम्झौतामा हस्ताक्षर हुने उक्त भ्रमणका क्रममा कपिलवस्तु, देवदहलगायत प्राचीन सम्पदाको संरक्षण तथा विकासमा समेत छलफल केन्द्रित हुन सकेमा त्यसले अन्तरराष्ट्रिय तहमा सकारात्मक प्रभाव पार्ने बताउँदै उहाँले धर्म, संस्कृति, भाषा, साहित्यलगायत विषय दुवै देश र जनतालाई एकापसमा भावनात्मकरुपमा जोड्ने काममा बलियो आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्व बौद्ध धर्म सङ्घका अध्यक्ष भीमसुवा गुरुङले बुद्ध जन्मस्थल लुम्बिनीलाई चीनका बौद्ध अनुयायीले पवित्र तीर्थस्थलका रुपमा आस्था प्रकट गर्ने र समय समयमा तीर्थस्थलको भ्रमण गर्दै आएकाले भ्रमणले थप प्रवद्र्धन गर्ने बताउनुभयो । “चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशका बौद्ध अनुयायीहरुको भावनामा सम्मान पुग्ने छ, नेपाल र यहाँका सम्पदाहरुको अन्तरराष्ट्रिय प्रचारप्रसार हुन राम्रो अवसर मिल्ने छ”, उहाँले भन्नुभयो ।

नेपाल र चीनबीच जनस्तरका आधारमा बनेको सम्बन्धको झन् महत्व छ । अन्तरराष्ट्रिय यात्रामा निस्केका फाइ हान र ह्वेन साङले क्रमशः पाँचौँ र साताँै शताब्दीमा नेपालमा आएर गरेको खोज अनुसन्धानले दुवै मुलुकबीच ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बलियो बनाएको छ । नेपालका बौद्ध विद्वान् बुद्धभद्रले पाँचौँ शताब्दीमा चीनमा गरेको भ्रमणले बौद्ध साहित्यको विकासमा महत्वपूर्ण योगदान गरेको थियो । बौद्ध विद्वान् टीका शेर्पाका अनुसार बुद्धभद्रले बौद्ध साहित्यको प्रवद्र्धन गर्ने क्रममा जीवनका २५ वर्ष समय चीनमा बिताएका थिए भने बौद्ध दर्शनलाई नेपालबाट चिनियाँ समाजमा पु¥याई स्थानीय जनतासँग बौद्ध अभ्यासलाई अन्तरघुलित गराएका थिए । दुवै मुलुकका बौद्ध अनुयायीले सम्बन्धित दर्शन तथा साहित्यलाई अवलम्बन गर्ने र तीर्थस्थलका रुपमा भ्रमण गर्ने परम्परा रहेको बताउँदै शेर्पाले भन्नुभयो, “सरकारले लिएको भ्रमण वर्षको अभियानमा चिनियाँ पर्यटकको अभिवृद्धि गर्ने सूचना प्रवाह भएमा शक्तिशाली राष्ट्रका प्रमुखले गर्ने भ्रमण निकै महत्वपूर्ण र अर्थपूर्ण हुने छ ।”

तत्कालीन ललितपुरमा जन्मेका अरनिको अर्थात् बलबाहुले नेपाली वस्तुकलालाई परिचित गर्ने गरी निर्माण गरेको बेइजिङमा श्वेत चैत्यले जनस्तरमा समेत प्रभावकारी सम्बन्ध कायम गरेको छ । तेह्रौँ शताब्दीमा नवनिर्मित संरचना अहिले विश्वसम्पदा सूचीमा सूचीकृत महत्वपूर्ण संरचनाका रुपमा मानिएको छ । उनको नेतृत्वमा ८० सदस्यीय प्रतिनिधिमण्डलले जीवनभर चीनमा बसेर थुप्रै गुम्बा, चैत्य, बुद्ध मूर्ति र चित्रलगायत सम्पदा बनाए । यस प्रकारका संस्कृतिले दुई देशलाई भावनात्मकरुपमा सम्बन्धको उचाइ अभिवृद्धि गरेको छ । अरनिकोको कला निर्माणका विशिष्ट शैलीले गर्दा उनलाई सम्राट् कुब्ला खाँको अत्यन्त निकट शक्तिशाली व्यक्तिका रुपमा महत्व दिइएको थियो । सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएपछि दुवै मुलुकको सम्बन्ध पारस्परिक हितका आधारमा विस्तारित भई एकापसमा सहयोग सद्भाव आदानप्रदानमा केन्द्रित देखिन्छ ।

विभिन्न कालखण्डमा नेपालको विकास र समृद्धिका लागि निर्माण भएका विभिन्न परियोजनामा चीनले सहयोग गरेको पाइन्छ । बौद्ध साहित्यमा अध्ययन गर्नुपर्ने महत्वपूर्ण पाठ ‘पञ्चशील’ छ, त्यस सिद्धान्तका आधारमा दुवै देशबीच सन् १९६० अप्रिल २८ मा नेपाल चीनबीच शान्ति तथा मैत्री सन्धि भएको थियो । सन् १९६० मा चीनमा सांस्कृतिक क्रान्ति हुँदा पनि बौद्ध मन्दिर तथा प्राचीन सम्पदाको संरक्षण भने भइरह्यो । ‘बुद्धको पहिलो घर नेपाल तथा दोस्रो घर चीन’ भनिन्छ ।

Comments