चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । सो क्षेत्रमा सुरक्षासहित आवश्यक तयारीस्वरुप रिहर्सलसमेत भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । उहाँको सुरक्षामा काठमाडौँको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ । नेपाली सेनाका बलाधिकृत रथीको नेतृत्वमा समिति बनाएर सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

उक्त समितिले विभिन्न चरणमा बैठक बसेर आवश्यक तयारी गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । जसले मुख्य सुरक्षाको जिम्मा लिने छ । काठमाडौँका प्रजिअ दाहालले तोकिएको मापदण्ड र सिद्धान्त अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले ललितपुर र भक्तपुरका सुरक्षाकर्मीसँगसमेत समन्वयमा तयारी गरिएको बताउनुभयो ।

राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षामा नेपाल प्रहरीको तर्फबाट नेतृत्व लिनुभएका प्रहरी अतिरीक्त महानिरीक्षक पुष्कर कार्कीले अन्तर्राष्ट्रिय विशिष्ट व्यक्ति आउँदा अपनाउने आवश्यक सुरक्षा व्यवस्था सबै अवलम्बन गरिएको जानकारी दिनुभयो ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ । तेइस वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ ।

राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ । ठाउँठाउमा स्वागतद्वार बनाउने, सडक पुनःनिर्माणलाई तीव्रता दिने पार्कश आकर्षित गर्ने फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्र रुपमा भइरहको छ । विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालमा मौलिक संस्कृति झल्कने तस्बीर सहितको फ्लेक्स बनाएर राखिएको छ । राष्ट्रपति सीलाई नागरिकस्तरबाटसमेत भव्य स्वागतको तयारी छ ।

नेपाली सेना, कर्मचारीसहितको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सि ओर्लिएपछि उनको सवारी, गार्ड अफ अनरको अभ्यास गर्ने छ । सुरक्षा स्रोतका अनुसार एयरपोर्टमा सिको विशेष विमान उत्रिएपछि सिलाई होटल सोल्टी पुर्याइने कार्यक्रम छ । त्यहाँ केही बेर आरामपछि उनको सवारी शीतल निवासमा हुनेछ । शीतल निवासमा भेटवार्ता सकेर सि होटल सोल्टी फर्किनेछन् । बाँकी सबै भेटवार्ता त्यहीँ हुनेछन् । सिको सवारीपूर्व तीन घण्टा सडक बन्द हुनेछ ।

भ्रमण ऐतिहासिक र सार्थक बनाउन सिङ्गो देश एकताबद्ध छः सरकारका प्रवक्ता

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण तथा सहकार्य एवं मित्रताको नयाँ र लोभलाग्दो उचाइमा पु¥याउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र जनवादी चीनका राष्ट्रपति सी चिनफिङबाट हुने नेपालको राजकीय भ्रमणका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रमणका कार्यसूचीका विषयमा दुवै देशका अधिकारीबीच भइरहेको छलफलको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले भ्रमणका लागि उच्च सुरक्षा तयारी र सतर्कता कायम गरिएको र यसलाई पूर्ण रुपमा सफल र ऐतिहासिक बनाउने कुरामा सबैपक्ष पूर्णरुपमा सहमत, सचेत र गम्भीर भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत, विज्ञ तथा चीनका लागि नेपाली पूर्वराजदूतसमेतको बैठक आयोजना गर्नुभएको र उक्त बैठकमा प्रधानमन्त्रीले भ्रमणलाई ऐतिहासिक बनाउन सबैको साथ र सहयोग रहने तथा यसलाई ऐतिहासिक बनाउन भ्रमणका क्रममा कुनै प्रयास बाँकी नराखिने बताउनुभएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । बैठकमा दुई देशका नेताहबीचको सम्बन्ध पूर्ण विश्वासिलो बन्नुपर्छ भन्ने सुझाव आएको र सरकारले त्यसलाई सकारात्मक रुपमा ग्रहण गरेको सरकारका प्रवक्ताले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट हुन लागेको यस भ्रमणलाई नेपाल सरकार र नेपाली जनताले अत्यन्त भव्यतापूर्वक सफल बनाउन सङ्कल्प गरेकाले यसलाई परिणाममुखी बनाउन सम्पूर्ण तयारी पूरा गरिएको बताउँदै भ्रमणका समयमा आपसी हितका सबै विषयमा छलफल हुने तथा नेपालले पहिलादेखि उठाएको र दुई देशबीचका सबै विषयमा सौहार्दपूर्ण अवस्थामा दुई देशका अधिकारीबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले द्विपक्षीय वार्तामा मुख्यतः रेल्वे, सडक, अप्टिकल फाइबर र विद्युतीय ट्रान्समिसन लाइन समेटिएको हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल ( ट्रान्स हिमालयन मन्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क) का विविध पक्षमा छलफल हुने र यसले दुई देशका नागरिकबीचको व्यापार सम्बन्ध बढाउने तथा उत्पादन र उपभोक्तालाई जोड्न बलियो सेतु उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । चीनसँग जोडिने पहिलो राजमार्ग अरनिको राजमार्गको स्तरोन्नति, रसुवागढी–छहरे–काठमाडौँ सुरुङ तथा रेल, अन्तरसीमा विद्युत् प्रसारण, सीमा व्यवस्थापन, किमाथाङ्का र कोराला नाका, हिल्सा सडक र उत्तर दक्षिण करिडोरका विषयमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो ।

‘‘आजको चीन विश्वको महाशक्तिको रुपमा उदाएको छ र हाम्रो असल छिमेकी राष्ट्रको रुपमा पनि रहेको छ । नेपाल यस्तो अवस्थामा छ जहाँबाट विश्वका तीन अर्ब मानिसलाई जोड्न सकिन्छ । यस सम्बन्ध सेतुको रुपमा कनेक्टिभिटीको अवधारणालाई महत्पूर्ण अगाडि बढाउन हामी इच्छुक छौँ । दुई मुलुकबीचको सम्बन्धलाई बढी सहज बनाउन र मानवजातिले विकास गरेका सम्पूर्ण सिर्जनाको सहज उपभोग गर्न यसलाई साझा सम्पत्तिको रुपमा प्रयोग गर्न सकिन्छ’’, उहाँले भन्नुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘‘केरुङ –काठमाडौँ रेलको दूरी ७८ किलोमिटर छ । त्यसको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बन्नुपर्छ । त्यसैबाट सुरुङ, पुलबारे धेरै कुरा निर्धारण हुन्छ । त्यसपछि लागत निस्कन्छ । ऋणका सम्बन्धमा नेपाल तथा चीनको क्षमता, नेपालको अनुरोध तथा चीनको सद्भावले निर्धारण गर्छ’’, उहाँले भन्नुभयो ।

उहाँले दुवै पक्षबीच यस्ता विषयमा सकारात्मक ढङ्गले छलफल भइरहेको र भ्रमणका दौरानमा वार्ता र छलफलको क्रममा यी विषय थप परिष्कृत हुने बताउनुभयो । उहाँले दुई राष्ट्रपतिबीच बैठक हुने, रात्रिभोज आयोजना गरिने, चिनियाँ राष्ट्रपति सीबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक वार्ता हुने र त्यस क्रममा परियोजना तथा चासोका विषयमा समझदारी र समझौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको बताउनुभयो । उहाँले कुनै पनि देशले सबै परियोजना कसैका लागि पनि निः शुल्क बनाइदिन नसक्ने तथा कतिपय विषय सद्भावमा भर पर्ने उल्लेख गर्दै यसमा सबै पक्षको सद्भाव प्राप्त हुने, कसैको पनि विरोध नहुने र भ्रमणलाई ऐतिहासिक र सार्थक बनाउन सिङ्गो देश एकताबद्ध भएर उभिएको बताउनुभयो ।

‘‘चमत्कारिक विकास गरेको र महाशक्तिको रुपमा आएको चीनको आर्थिक, प्राविधिक तथा ज्ञानको क्षमताबाट छिमेकी मुलुक हुनुका नाताले नेपालले पनि लाभ लिन सक्छ । चीनसँग हजारौँ वर्षदेखि र संवतको गणनै नहुँदादेखि रहँदै आएको सद्भाव कतै पनि खल्बलिँदैन र यसमा विषयान्तर हुँदैन ।’’ उहाँले जोड दिनुभयो । प्राकृतिक विपत्तिमा नेपाल परेको बेला चीनको महत्वपूर्ण सहयोग रहेको बताउँदै वसन्तपुर दरबार र नुवाकोट दरबार हाल पुनःनिर्माण हुँदै गरेको जानकारी दिनुभयो ।
मन्त्री बाँस्कोटाले दुई मुलुकबीच सम्बन्ध समस्यारहित रहेको बताउँदै राष्ट्रपति सीको भ्रमणलाई नागरिक रुपमा पनि तीव्र प्रतीक्षा गरिएको र सफल होस् भनेर कामना गरिएको उल्लेख गर्नुभयो । उहाँले ली सियान, ज्याङ जमिनपछि सी नेपाल भ्रमण गर्ने तेस्रो चिनियाँ राष्ट्रपति हुनुभएको र यो सिङ्गै देशको गर्वको विषय भएको बताउनुभयो । चिनियाँ राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।

Comments