पृथ्वीराजमार्गअन्तर्गत तनहँुको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको निधन भएको छ । दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन् । मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नं को बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीया शोभा धितालको निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा ३६ वर्षीय सुरज धिताल र नौ वर्षीय अर्पण धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा निधन हुने श्रीमती हुन् भने घाइते सुरज मृतकका श्रीमान् र अर्पण छोरा हुन् ।

दुर्घटनामा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार राति निधन भएको हो । उनको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो ।
दुर्घटनामा घाइते सुरज र अर्पणको पनि सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस : फर्कने यात्रु बढ्दै

बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर पोखराबाट आ आफ्ना कार्यस्थल जाने व्यक्तिका कारण सवारीसाधनमा चाप देखिएको छ । सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिए पनि कास्की र आसपासका जिल्लामा सकेसम्म विजयादशमीकै दिनमा नै टीका लगाउने प्रचलन भएकाले उक्त दिन टीका लगाएर सर्वसाधारण आआफ्ना कार्यस्थलमा फर्कने गर्दछन् ।

दशैँका कारण केही दिन भने पनि चहलपहल भएका गाउँ बस्ती पुनः पूर्ववत् सुनसान हुँदै जान थालेका छन् भने शहरमा देशका विभिन्न भागका लागि बाहिरिने सवारीसाधनको चाप बढेको छ । हिजोदेखि नै फर्कने यात्रुको सङ्ख्या बढ्दै गएको पृथ्वी राजमार्ग बस कम्पनी लिमिटेडका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

पोखराबाट पूर्व र पश्चिमतर्फ ४९ वटा रात्रि बस नियमित सञ्चालन भएकोमा दशैँको टीका लगाई फर्कने यात्रुका कारण सवारीसाधन थपेर ७० वटा बनाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाडौँलगायतका स्थानमा जाने माइक्रो बस भने बिहानैदेखि खचाखच भरिएर गएका छन् ।

दशैँमा फर्कने यात्रुको सुविधा, सुरक्षा एवं जथाभावी भाडा बढी लिने क्रमलाई नियन्त्रण गर्ने लक्ष्यका साथ ठाउँठाउँमा गस्ती एवं सुरक्षा जाँच भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरिक्षक बाबुराम केसीले जानकारी दिनुभयो । फूलपातीदेखि बिदा भएका सरकारी कार्यालय आजदेखि खुलेका कारण पनि बजार क्षेत्र एवं कार्यालयमा चहलपहल बढेको छ ।

Comments