चितुवाको आ क्रमणबाट तनहुँको भानु नगरपालिकामा आज एक बालकको निधन भएको छ । निधन हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेका छन् । घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आ क्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा साँझ उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

“दशैँको दिन टीका लगाएर घर नजिकै पिङ खेल्ने क्रममा चितुवाले आ क्रमण गरेको रहेछ”, प्रहरी नायब उपरिक्षक लामिछानेले भन्नुभयो, “भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्दछु ।” भानु नगरपालिकामा यसअघि पनि चितुवाको आ क्रमणबाट बालबालिकाको निधन भएको छ । चितुवाको आ क्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको निधन भएको थियो ।

विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको निधन भएको थियो ।

यसअघि असोज १५ गते भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । पुनः चितुवाले आ क्रमण गरेपछि भानु नगरपालिकामा अन्य चितुवा पनि रहेको अनुमान गरिएको छ । चितुवाले पुनः आ क्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

Comments