राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाउनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाउनुभएको हो ।

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाउनुभयो । राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभएको हो । राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उहाँले हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो । राष्ट्रियगान गायन पछि शुरु भएको सो कार्यक्रममा पुरोहितद्वारा स्वस्तिवाचनका साथै मङ्गलधून बजाइएको थियो ।

Comments