ए’सिड प्रहारले शरिरको १० प्रतिशत भाग डढेकी मुस्कान खातुन अझै अस्पतालमा नै भर्ना छिन् । हाल उनको कानमा देखिएको संक्रमणको उपचार भइरहेको छ । छपकैया–२ निवासी १४ वर्षीया मुस्कान हाल ‘नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर’ किर्तिपुर अस्पतालमा भर्ना छिन् । कक्षा ९ मा अध्ययनरत खातुनमाथि केहि दिन अगाडी स्कुल जाँदा गर्दा दुई जनाको समूहले ए सिड आ क्रमण गरेको थियो । एसिसले उनको अनुहार, छाती र हातमा घाउ लागेको छ । चिकित्सकहरुको अनुसार उनको शरिरको कुल १० प्रतिसत भाग एसिड प्रहारले डढेको छ । हाल उनको छाति र हातको एसिडले डढेको भागमा छाला समेत हालिएको छ ।

यसै क्रममा बलिउडका महानायक अमिताभ बच्चनले वीरगञ्जकी एसिड पीडित किशोरी मुस्कान खातुनलाई भिडियो सन्देश पठाएका छन्। सन्देशमा उनले मुस्कानलाई छिटो निको हुन शुभकामना दिएका छन्। ‘मुस्कानमाथि भएको घटना निन्दनीय र दुःखद छ’, उनले भनेका छन्।

मुस्कानमाथि भएको घटना कुनै बालिकामाथि हुन नहुनेमा जोड दिँदै अमिताभले भनेका छन्, ‘यो एकदमै गलत भएको छ, म विश्वास गर्छु कि तपाईको देशको कानुन उनीहरु सबैलाई पक्राउ गरेर कानुनअनुसार कारवाही गर्नेछ। हाम्रो शुभकामना तपाईसँग छ। तपाई मेरो फिल्म हेर्नुहुँदो रहेछ। तपाई यसैगरी सधै मुस्कुराइ रहनुस्।’

अमिताभले मुस्कानको सेवा गरिरहेका उज्जवल विक्रम थापालाई पनि धन्यवाद ज्ञापन गरेका छन्। यसअघि बलिउड अभिनेता बरुण धवन र अभिनेत्री कृति सेननले मुस्कानका लागि भिडियो सन्देश पठाएका थिए। त्यसैगरी चर्चित गायक राजु लामाले कीर्तिपुरस्थित उनी उपचाररत अस्पतालमै गएर भेटेका थिए। त्यतिमात्रै होइन उनले ‘तिमीलाई देखेर हिमाल हाँसेको’ गीत समेत गाएर सुनाउँदै हौसला प्रदान गरेका थिए।

Comments