नेपाल र अस्ट्रेलियाबीच दुवै देशका तोकिएका वायुसेवाले जुनसुकै आकारको जहाज प्रयोग गरी हप्ताको सात उडान गर्ने पाउने गरी हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्तक्षर भएको छ। क्यानडाको मन्ट्रियलस्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मुख्यालयमा नेपाल र अस्ट्रेलियन सरकारका प्रतिनिधिबीच आज मंगलबार उक्त हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको हो।

अस्ट्रेलियाका उपप्रधानमन्त्री तथा यातायतमन्त्री माइकल म्याकोरम्याकको कार्यालयले एउटा विज्ञप्ति जारी गर्दै दुई देशबीच भएको हवाई सेवासम्बन्धी सम्झौताअनुसार सीधा उडान सुरु गर्ने योजना अघि बढाइएको जनाएको हो। नेपालका वायुसेवा प्रदायकलाई पनि आफ्नो देशमा उडान गर्न दिने घोषणा अस्ट्रेलियाले गरेको छ।

दुई देशबीचको सीधा हवाई सम्पर्कले पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा थप अवसरहरू निम्त्याउने अपेक्षा अस्ट्रेलियाको सरकारले गरेको छ। अस्ट्रेलियाका उपप्रधानमन्त्री म्याकोरम्याकले सीधा उडान गर्न सकिने क्षेत्रमा भए पनि प्रत्यक्ष हवाई सम्पर्क सञ्जालमा नजोडिएको अस्ट्रेलियाको सबैभन्दा ठूलो बजार नेपाल भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

“यसले अस्ट्रेलियालीहरूलाई विश्वको अभूतपूर्व स्थानको भ्रमण गर्न सजिलो मात्र बनाउने छैन यसले हाम्रो हवाई उद्योग र निजी विमानसेवा प्रदायक साझेदारहरूलाई एउटा नयाँ बजार र अवसर उपलब्ध गराउनेछ।” उक्त सहमतिअनुसार अस्ट्रेलियाली वायुसेवाले काठमाण्डूमा हप्ताको सातवटासम्म सीधा उडान भर्न पाउनेछ। त्यसबाहेक नेपालमा रहेका अरू विमानस्थलमा उसले २८ वटासम्म उडान गर्न पाउने भनिएको छ। नेपाली विमानसेवाहरूले पनि त्यस्तै अवसर पाउनेछन्।

उनीहरूले सिड्नी, मेल्बर्न, ब्रिस्बेन र पर्थमा एक हप्तामा सातवटासम्म उडान गर्न पाउने भनिएको छ। त्यसबाहेक अस्ट्रेलियाका अरू क्षेत्रीय विमानस्थलमा असीमित उडान गर्न सक्ने जनाइएको छ। क्यानडामा गत अगस्ट महिनामा भएको अन्तर्राष्ट्रिय उड्ययन प्राधिकरण आईकाओको महासभामा भाग लिन गएका नेपाली र अस्ट्रेलियाली अधिकारीहरूले यस विषयमा एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

Comments