प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ ।रङ्गमहल रिभर ल्यान्ड प्रा.लि.ले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक सुरुआत भने दशँैको फूलपातीबाट गरिने प्रा.लि.का अध्यक्ष रमन भट्टराईले जानकारी दिनुभयो । “हामीले अहिले टेस्ट ड्राइभ सुरु गरेका हौँ । यसलाई औपचारिक रूपमा फूलपातीबाट सुरु गर्नेछौँ,” भट्टराईले गोरखापत्रसँग भन्नुभयो । मिनी क्रुज झट्ट हेर्दा सानो पानीजहाजकै स्वरूपमा छ । यसलाई स्थानीय पानीजहाजकै नामले चिन्दछन् । मिनी क्रुज पहिलोपटक आइतबार मात्रै नारायणी नदीमा टेस्ट ड्राइभ गरिएको हो । यसको सोमबार पनि टेस्ट ड्राइभ जारी थियो । “अहिले हामी २० जना यात्रु राखेर यसलाई चलाउन सक्नेछौँ,” अध्यक्ष भट्टराईले भन्नुभयो ।

मिनी क्रुजसँगै प्रा.लि.ले दुईवटा जेट स्किम, दुईवटा रिभरबोट र एउटा बनानाबोट पनि सञ्चालनमा ल्याएको छ । यसका लागि प्रा.लि.ले करिब साढे तीन करोड रुपियाँ लगानी गरेको जनाएको छ । रङ्गमहल रिभर ल्यान्ड प्रा.लि. कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको संस्था हो भने यसलेनारायणी नदीमा मिनी क्रुज चलाउन वातवरण मन्त्रालयबाट ईआईए पास गराएको छ भने पर्यटन मन्त्रालय र भरतपुर महानगरपालिकाबाट सञ्चालनको अनुमति लिएको छ । नारायणगढको नारायणी किनारस्थित बुद्धपार्कलाई आफ्नो केन्द्र बनाएको प्रा.लि.ले मिनी क्रुज देवघाटदेखि गोलाघाटसम्म सञ्चालन गर्ने भएको छ । “हामीले पर्यटन प्रवद्र्धनकै लागि मिनी क्रुज चलाउने उद्देश्य राखेका हौँ,” उहाँले भन्नुभयो ।

नारायणी नदीमा झन्डै दुई सय सिटको क्रुज अर्थात् सानो पानीजहाज चलाउने तयारी भइरहेका बेला मिनी क्रुज पनि नारायणीमै आएको हो । प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा राइनो वाटर इन्टरमेन्टेन्ट प्रा.लि.ले क्रुज बनाउँदै छ । दशैँअघि नै क्रुज चलाउने योजना भए पनि प्राविधिक कारणले यो सञ्चालनमा अझै एक महिना लाग्ने राइनोका प्रबन्धनिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो । कात्तिक महिनाभरिमा नारायणीमा क्रुज पनि सञ्चालनमा आउने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन् ।

Comments