दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ । ३ हजार ३०० पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ ।एक हजार ५७५ देखि एक हजार ६०० मा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म बढेको छ । बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्वीकारेको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य बृद्धि भएको बताए । खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ । संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने,‘चामल आयात गर्नुपर्छ । मूल्यवृद्धि हुनुमा महँगिएको डलरको प्रभाव र अन्तर्राष्ट्रिय मूल्य वृद्धि हो ।’ यो समाचार अन्नपूर्ण पोस्ट्मा राजेश बर्माले लेखेका छन् ।

दसैंमा नेपालीको घरायसी खर्च नगद आठ खर्ब

सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब १८ अर्ब रुपैयाँ भएको थियो । यसपालि झण्डै २४ खर्ब पुग्ने अनुमान छ । दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एक तिहाइ सकिन्छ । त्यस  आधारमा यो दसैंमा ८ खर्ब रुपैयाँ सकिँदैछ । तर, त्यसको ४० प्रतिशत नगद ननिकाले पनि हुन्छ । जस्तो–आफ्नै उत्पादन, सरसामान आदि । ६० प्रतिशत भने पैसै चाहिन्छ ।

यसरी हेर्दा यो दसैंमा खर्ब रुपैयाँ प्रबाह हुनेछ । ‘वर्षभरिको हुने खर्चको एकतिहाइ दसैंमा सकिन्छ,’ अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन । घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछामासु समेत बुझिन्छ । कूल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुने अनुमान गर्न सकिन्छ ।’

बजारमा दसैंको चहलपहल बढेको छ । कपडा, गरगहना, सवारीसाधन, माछामासु, ग्याजेटलगायतका सरसामान खपत हुन्छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा पुष्पराज आचार्यले लेखेका छन् ।

Comments