सिद्धराज भट्ट – खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ । त्यहाँ फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको होे । वर्षभरी भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीयवासी नजिकिँदै गरेको वडादशैँको मुखमा स्वदेशमै उत्पादन भएको स्याउ पहिलो पटक आफ्नै बजारमा पाउँदा खुशी छन् ।

बाजुराका उत्तरपूर्वी क्षेत्रका स्वामीकात्तिक, जुकोट, जगन्नाथ, पाण्डुसैनलगायतका गाउँमा यो वर्ष स्याउको उत्पादन राम्रो रहेको छ । “यो स्याउ खानामा निकै रसिलो र स्वादिलो छ”, कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत मीनप्रसाद जैशीले भन्नुभयो, “भारतबाट आयातित स्याउमा ‘हरमन’ वा अन्य विषादीको प्रयोग हुने गरेकामा यहाँको स्याउ कुनै पनि विषादी प्रयोग नगरी उत्पादन हुने गरेको छ ।”

बजारीकरणको समस्याः बाजुरामा उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेपनि यसको बजारीकरण गर्न भने समस्या छ । स्याउ फल्ने गाउँसम्म सडकको पहँुच पुग्न नसकेको र भएका सडक पनि बिग्रेभत्किएका कारण स्याउको बजारीकरण हुन नसक्दा स्थानीय कृषकले यसको उचित मूल्य पाउन सकेका छैनन् ।

दुई सय ३० हेक्टर जग्गामा गरिएको स्याउ खेतीबाट योवर्ष एक हजार ५० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । पहिलो पटक स्वामीकात्तिक सहकारी संस्थाको पहलमा ‘जसले खायो, उसले स्वाद थाहा पायो’ भन्ने नारासहित त्यहाँ उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रमा बजारीकरण गर्न थालिएको छ । सो संस्थाको पहलमा ६० क्वीन्टल स्याउ धनगढी पु¥याइएकामा तीन दिनमा झण्डै ३६ क्वीन्टल बिक्री भइसकेको छ ।

सो स्याउ काठमाडौँं पठाउने तयारी पनि संस्थाले गरेको छ । यसको बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्रले किसानलाई कार्टून उपलब्ध गराउनुका साथै ढुवानीमा सहयोग गरेको जनाएको छ । “स्याउ बेच्न नसकेका किसानको परिश्रम, व्यथा, समस्या देख्दा चित्त दुःख्यो”, संस्थाका अध्यक्ष मेघबहादुर शाहीले भन्नुभयो, “स्याउ किसानले भोगेका समस्यामा कसैले चासो नदिएपछि सहकारी आफैले बजारीकरणको पहल गरी किसानलाई थोरै भए पनि राहत दिने प्रयत्न गरेको हो ।‘‘

बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको सडक बिग्रेका कारण त्यहाँ उत्पादन भएको स्याउ धनगढीसम्म पु¥याउन कर्णाली नदी पारीका कालीकोट, दैलेख, सुर्खेत, बाँके हुँदै बर्दियाको बाटो प्रयोग गर्नुपरेको छ । बाजुराको स्वामीकार्तिकबाट धनगढीसम्म स्याउ पु¥याउन एक हप्ताको समय लागेको थियो ।

स्याउको स्वाद लिनुभएका यहाँका ओमप्रकास जोशीले भन्नुभयो, “सात सय किलोमिटरको दूरीका भारतीय शहरबाट स्याउ नेपाली बजारमा भित्र्याइन्छ, तर तीन सय किलोमिटरको दूरीमा रहेको बाजुरामा उत्पादन भएको स्याउ नेपालका बजारमा पु¥याउने व्यवस्था हुन नसक्नु बिडम्बना हो ।” धनगढी, अत्तरियालगायतका शहरी क्षेत्रको फलफूल बजारमा भारतका विभिन्न शहरबाट भित्रिने स्याउको कारोबार हुँदै आएको छ ।

बारीमा एक दाना स्याउको मूल्य एक रुपैयाँ

स्याउ फल्ने गाउँमा यतिबेला एक दाना स्याउ एक रुपैयाँमा पाउने गरेको छ । ‘‘गाउँमा एक रुपैंयामा एक दाना पाउँदा सदरमुकाम मार्तडीमा रु दश रुपैयाँमा एक दाना पाउँछ”, सहकारीका अध्यक्ष शाहीले भन्नुभयो, “यस्तो अवस्थामा सडकको पहँुच पु¥याउन सकिए किसानले आफ्नो स्याउको उचित मूल्य पनि पाउँथे ।”

सहकारी संस्थाले भने ग्रेडिङ गरिएको स्याउ किसानबाट प्रतिकिलो रु १५ देखि रु २५ मा खरीद गरेर धनगढी बजारमा पु¥याएको हो । धनगढी बजारमा उक्त स्याउको मूल्य एक किलोको रु १०० पाँच किलो भन्दा बढी लिनेलाई प्रतिकिलो रु ९० र प्रति कार्टून २० किलोको पोका लिनेलाई प्रतिकिलो रु ७५ तोकिएको छ । भारतबट आयातित स्याउको भने स्थानीय बजार मूल्य प्रतिकिलो रु १०० देखि रु १८० सम्म छ ।

यो पनि पढ्नुहोस : जुम्लाको स्याउले भारतको स्याउलाई गरिदियो विस्तापित, बजारमा जुम्लाका स्याउ आएपछि भारतीय स्याउ बिक्रि हुन् छोडे !

जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बजार पाउन छाडेको छ । जाजरकोट जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । रु एक सयमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो । स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्यधिक माग बढेको व्यापारी लोकेन्द्र रोकायले बताउनुभयो ।
भारतीय स्याउ खाँदा मीठो नभएको तर जुम्ली स्याउ मीठो भएको भेरी नगरपालिका–३ का शारदा ओलीले बताउनुभयो । जाजरकोट सदरमुकाममा तीन ठाउँमा डिलर राखेर जुम्ली स्याउ बिक्री भइरहेको छ । जुम्ली स्याउसँगै जाजरकोटमा फलेको स्याउ बिक्री–वितरणमा समेत सहज भएको व्यापारीले बताएका छन् । भारतबाट कमाई गरेर घर फर्कनेहरु समेत घरमा जुम्ली स्याउ नै कोशेलीका रुपमा लिने गरेका छन् । अर्गानिक भन्दै जुम्ली स्याउको माग बढेको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो । कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएसँगै जुम्ली स्याउको माग ह्वात्तै बढेको छ । यातायातको अभावमा अघिल्लो वर्ष जाजरकोटमा ल्याउन नसकिएको बताउने यहाँका व्यापारीहरु, यो वर्ष केही सहज भएपछि जुम्ली स्याउ ल्याउन पाएको बताएका छन् ।

जाजरकोटमा यातायातको पहुँच भएको सबै ठाउँमा जुम्ली स्याउ पुगेको व्यापारीहरु बताउँछन् । त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिम, सुर्खेतमा समेत जुम्ली स्याउमा बजार पाएको व्यापारी रणबहादुर महतले बताउनुभयो । भारतीय स्याउमा विषादी मिसाएको पाइएसँगै जुम्ली स्याउले बजार पाउँन थप सहज भएको हो । अहिले जाजरकोटमा दैनिक सरकारी कार्यालय, सङ्घसंस्था र कार्यक्रममा समेत जुम्ली स्याउकै प्रयोग दर बढेको छ ।

यो पनि पढ्नुहोस : भारतीय स्याउलाइ पाखा लगाउदै नेपालको कर्णाली प्रदेशको रसिलो स्याउले नेपालगन्जको बजार ढाक्यो !

नेपालगन्ज बजारमा अहिले फलपूलको ‘राजा’ मानिने कर्णाली प्रदेशका रसिलो स्याउको भरमार नै छ । एक किलोको रु १०० देखि १२० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगन्ज बजारबाट पाखा लगाइसकेको छ । नेपालगन्जमा अहिले कर्णालीबाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायी मोहम्मद नसिम खाँले बताउनुभयो ।

नेपालमा कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा र मुगुको स्याउको खुबै नाम छ । जैविक मानिने भएकाले यो क्षेत्रको स्याउ प्रख्यात छ । नेपालगन्जका फलफूल व्यापारीहरु अहिले कर्णाली जिल्लाका स्याउ बिक्रीमा व्यस्त छन् । जुम्ला लगायतका जिल्लामा मोटरबाटो पुगेकाले अहिले सडक मार्गबाटै स्याउ आउँदा सस्तो पर्ने गरेको छ । नेपालगन्जमा दैनिक चार÷पाँच ट्रक स्याउ आउने गरेको स्याउ व्यापारीहरु बताउँछन् ।

नेपालगन्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुट्कर बिक्रेताहरुले किनेर बजारमा बिक्री गरिरहेका छन् । स्याउका खुद्रा व्यापारी असलम अन्सारीले कर्णालीको स्याउ रसिलो हुने भएकाले यहाँबाट उपभोक्ताले काठमाडौँमा पनि लैजाने गरेको बताउनुभयो ।

कर्णालीको स्याउले नेपालगन्जमा राम्रो बजार लिएपछि त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगन्जका सदस्य मेराइलाल साहु भन्नुहुन्छ, “कर्णालीबाट अहिले एकै जातको स्याउलाई दुई वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।”

नेपालगन्ज ल्याइएका कर्णालीको स्याउ यहाँबाट बर्दिया र कैलालीमा पनि पठाउने गरिएको व्यवसायी साहुले बताउनुभयो ।

Comments