राष्ट्रकवि माधवप्रसाद घिमिरे हिजो १०१ वर्ष पुग्नुभएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरेको १०१ औँ कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान गरियो । राष्ट्रकवि घिमिरेको जन्म १९७६ मा आजैको दिन लमजुङ, पुस्तुनमा भएको हो ।

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित जन्मशताब्दी विशेषाङ्क लोकार्पण गरियो । राष्ट्रकविलाई शुभकामना व्यक्त गर्न उहाँको निवास लैनचौरमा बिहानदेखि नै समाजका विभिन्न क्षेत्रका व्यक्तिको घुइँचो लागेको थियो । समारोहमा कवि घिमिरेले आफ्ना कविता रुचाउने सबै नेपालीप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

सय वर्षको उमेरमा पनि काव्य रचनामा तल्लीन । अचम्मकै कुरो हो यो । कतिले सपना पनि ठान्लान् । तर यो यथार्थ हो । र, सय वर्षको उमेरमा पनि सक्रिय कवि हुन्– राष्ट्रकवि माधव प्रसाद घिमिरे । आजभन्दा १०० वर्षअघि पिता गौरीशंकर र माता द्रौपदिदेवी घिमिरेको पुत्ररत्नका रूपमा लमजुङको पुस्तुनमा घिमिरेको जन्म भएको हो । तीन वर्षको उमेरमै मातृ वियोगको पीडा खेपेका घिमिरेको बाल्यकाल त्यति सुखद रहेन ।

उतिबेला बाल्यकालमै बिहे गर्ने चलन थियो । तत्कालीन समय अनुसार छिप्पिइसकेपछि अर्थात् १५ वर्षको उमेरमा घिमिरेको विवाह गौरी पोखरेलसँग भयो । विवाहपछि वि.सं. १९९३ मा उनी काठमाडौ आए र रानीपोखरी संस्कृत पाठशालाबाट औपचारिक शिक्षा प्रारम्भ गरे । पछि तीनधारा संस्कृत पाठशालामा पढे । त्यसपछि बनारसको क्विन्स कलेजबाट गुरु सोमनाथ सिग्देलको छत्रछायामा रही सर्वदर्शनमा शास्त्रीसम्मको अध्ययन गरे ।

काठमाडौंमै रहँदा २००४ साल असारमा घिमिरेकी धर्मपत्नी गौरीको निधन भयो । उनी दुई छोरी शान्ति र कान्तिलाई टुहुरा पारेर विदा भइन् । २००५ सालमा घिमिरेले महाकाली अधिकारीसँग विवाह गरे । जसले उनलाई आज पर्यन्त साथ दिइरहेकी छिन् । भाषानुवाद परिषदबाट जागीरे जीवन सुरु गरेका घिमिरे गोरखापत्रको सहायक सम्पादक, लमजुङको विद्यालयमा प्रधानाध्यापक पनि बने । २०१४ सालमा प्रज्ञाप्रतिष्ठानको सदस्य रहेका उनी पछि कुलपतिसम्म बने । उनी प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन् ।

नेपाली साहित्यमा देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा घिमिरेका रचनामा लोकलयको मिठो संयोजन पाइन्छ । घिमिरेले १३–१४ वर्षमै कविता लेख्न सुरु गरेका थिए । उनी काठमाडौं आउनुअघि नै गोरखापत्रमा ज्ञानपुष्प (१९९२) शीर्षकको कविता छापिइसकेको थियो । काठमाडौ आएपछि तिनै लयलाई शब्दपुष्पले उनेर सुन्दर रचना गरे । घिमिरेको लेखनमा देवकोटाको स्वछन्दतावाद र लेखनाथ पौड्यालको परिष्कारवादको प्रभाव पाइन्छ ।

१९९४ सालमा छापिएको नवमञ्जरी कविता संग्रह घिमिरेको पहिलो कृति हो । गद्य र पद्य दुवै विधामा कलम चलाएका घिमिरेका गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्र्रह), शकुन्तला, विषकन्या, अश्वत्थामा, देउकी, बालकुमारी, बोराको पर्दा तथा बाल कवितामा घामपानी (२०१०) बाललहरी (२०२६) राहुल यशोधरा (२०३५) सुनपंखी चरी (२०३५) आदि छन् । पत्नी गौरीको शोकमा लेखिएको गौरी (२००५) शोककाव्य उनको चर्चित रचना हो ।

गद्यको कुरा गर्दा कथा र निबन्धमा घिमिरेको कलम चलेको पाइन्छ । आफ्नै बाँसुरी आफ्नै गीत र चारु चर्चा उनको निबन्ध संग्रह हो । मन जित्ने मुरली उनको कथा संग्रह हो । माधव प्रसाद घिमिरेलाई राज्यले २०६० सालमा राष्ट्रकविको उपाधिले सम्मान ग¥यो । उनले साझा पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार, भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार जस्ता २ दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । उनको योगदानको कदर गर्दै राज्यले विभिन्न सुविधा उपलब्ध गराएको छ । हेरौं यो भिडियोमा :

Comments