सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ । अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २७६ सिट क्षमताको वाइडबडी अगष्ट ३१ मा त काठमाडौँबाट १८ जना बोकेर उड्यो ।

‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो,’ नेपाल वायु सेवा निगमका उच्चअधिकारी भन्छन्,‘ भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगेमात्र नाफामा जान्छ ।’ लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो । निगम दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने,‘उडाउनुपथ्र्यो नारिता, उडान खोजिँदै छ ओसाका ।’

नारिता टोकियोसँगैको विमानस्थल हो । त्यहाँभन्दा टाढाको सहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु कम हुन्छन् । त्यो जापानको क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो छैन । यो समाचार अन्नपूर्ण पोष्ट्मा अखण्ड भण्डारी र राजु बाँस्कोटाले लेखेका छन् ।

यो पनि पढ्नुहोस :प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए ।

सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाइडी साइमेक्सले टेरेको छैन । टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न दिर्नेशन दिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।

Comments