फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् ।  केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका इन्स्पेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका छन् ।

ब्युरोसँगको बयानमा नरेशले फिरौती संलग्न धन्दाका आठ आरोपीमध्ये तीन जनालाई चिनेको बताएका छन् । बस्नेत गत वर्ष असोज २३ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई राजधानीको शान्तिनगरमा गाडीभित्रै गो’लीप्र’हार गरी ह’त्या गरेको घटनाका मुख्य आरोपी हुन् । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

यो पनि पढ्नुहोस : यसरी बन्दैछ धरहरा, कहिले हुन्छ पूरा ?

भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ ।

अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ । निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीकाअनुसार पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय सिंहदरबारमा बिहीबार धरहरा पुनर्निर्माण प्रगति समीक्षा गरिएको थियो ।

सो क्रममा जीआईईटीसी–रमन जेभीका कन्ट्र्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले समग्रमा २६ प्रतिशत प्रगति हासिल भएको जनाए । उनका अनुसार निर्माणस्थलका हिसाबले भने ६७.५ प्रतिशत प्रगति भएको छ ।

धराहरा पुनर्निर्माणअन्तर्गत सुनधाराको गोश्वारा हुलाक नै हटाएर काम अघि बढिरहेको छ । गोश्वारा हुलाक रहेका भवनहरू भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरू हाल्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरू समानान्तर रूपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए । ‘गुणस्तर कायम राख्न कुनै कसर बाँकी राख्न भएन, तोकिएकै समयमा काम सम्पन्न हुनुपर्दछ,’ उनले भने । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

Comments