विराटनगर, २७ भदौ । उर्लाबारी नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतबीचको विवाद अहिले सतहमा आएको छ । लामो समय देखि विवादित सो नगरपालिकाको कामकाज समेत ठप्प छ । कांग्रेसबाट निर्वाचत प्रमुख खड्ग फागो र नेकपाबाट निर्वाचित उपप्रमुख लक्ष्मीदेवी भण्डारीबीचको विवादका कारण नगरको काम प्रभावित भएको एक महिना पुगेको छ । उनीहरुको विवाद अदालत सम्म पुगेको बेला फेरी मेयर खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा ताला लगाएका छन् । मन्त्रालयले मागेको कागजात पठाउने विषयमा विवाद भएपछि मेयर फागोले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीको क्वार्टरमा नगरप्रहरी प्रयोग गरी ताला लगाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मागेको कागजात पठाउने विषयमा पाँच दिनअगाडि प्रमुख फागो र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो । विवादपछि आफूलाई असुरक्षित महसूस गर्दै अधिकृत रेग्मीले उर्लाबारी छाडेका थिए । नगरपालिकाका उपमेयर लक्ष्मी भण्डारी क्वार्टरमा रेग्मीको परिवार रहेकै अवस्थामा ताला लगाएको आफूले जानकारी पाएको बताइन् । नगर प्रमुख खड्ग फागो भने प्रमुख प्रशासकिय अधिकृतले क्वाटर छाडेपछि सुरक्षाकालागि ताला लगाएको बताउँछन् । कार्यलय नआएको विषयमा स्पष्टिकरण सोध्दा सामान्य भनाभन भएको उनले बताए ।
सुरक्षाका लागि रेग्मीले प्रशासन गुहारे

असुरक्षित भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले आफ्ना लागि सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । प्रमुख फागोका कारण आफू असुरक्षित भएको भन्दै उर्लाबारी छाडेका रेग्मीले जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षा माग्दै निवेदन दिएका हुन् । आफूले भनेको नमानेको भन्दै प्रमुख फागोले रेग्मीलाई धाकधम्की गर्दै अपशब्द प्रयोग गरी गालीगलौज गरेको अधिकृत रेग्मीले निवेदनमा उल्लेख गरेका छन् ।

विवादपछि उर्लाबारी छाडेका अधिकृत रेग्मी विराटनगर बसिरहेका छन् । अधिकृत रेग्मीको निवेदन जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले शान्ति सुरक्षा माग गर्दै शुक्रबार पत्र आएको बताए । प्रमुख प्रशासकीय अधिकृत रेग्मीले उर्लाबारीमा आफूमाथि थ्रेट भएको विषयमा सुरक्षा निकायलाई जानकारी गराएको बताएका छन् । आफू असुरक्षित महसूस गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् शान्ति सुरक्षा माग गरेको बताउने उनी थप बोल्न चाहँदैनन् ।

Comments