नेपाल टेलिभिजनमा प्रशारण हुने चर्चित हाँस्य टेलिफिल्म ‘भद्रगोल’ मा कलाकारहरुबीच साँच्चै नै भद्रगोल भएको छ । कलाकारहरुबीच कुरा मिल्न नसक्दा भद्रगोल नै भएको हो । पारीश्रमिक लगायतका विषयमा विमती भएपछि सो टेलिसिरियलका कलाकारहरु छुट्टीएका छन् । सो टेलिसिरियलवाट अलग्गिएका कलाकारहरुको समूहले नयाँ टेलिसिरियल ल्याउने घोषणा गर्दै त्यसको पोस्टर समेत सार्वजनिक गरेका छन् ।

मिडियाहबसँगको विवादका कारण ‘भद्रगोल’बाट कलाकारहरु अलग्गिएका हुन् । समुहवाट अलग्गिएका कुमार कट्टेल (जिग्री) सहितका कलाकारहरुले ‘सक्किगोनि’ नामको नयाँ टेलिसिरियल ल्याउन लागेको सार्वजनिक गरेका हुन् । सो टेलिसिरियलको पोस्टर पनि सार्वजनिक भएको छ ।

नयाँ टेलिसिरियलमा जिग्रीका अतिरिक्त अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (कक्रोज) मधुसुदन पाठक (सिते बा) लगायत २१ जना कलाकार हुने बताइएको छ । कलाकार मधुसुदन पाठक (सीते बा) ले सामाजिक सञ्जाल (फेसबूक) मार्फत ‘सक्किगोनि’ आउने जानकारी गराएका छन् । उनले सो टेलिसिरियलको पोस्टर समेत सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्, ‘आफूले जन्माएको, हुर्काएको एउटा सिर्जना इतिहास बन्दै गर्दा आफू भित्रको नसकिएको कलाकारिताको अर्को सिर्जना सक्किगोनि जन्मिएको छ’।

 

Comments