तुलसीपुर उपमहानगरपालिका–६ की रेखा चौधरी १२ वर्षमा पुगिन् । अहिले उनीलाई आफू र १० वर्षीया बहिनी रेणुका चौधरीलाई कसरी पालनपोषण तथा पढाइको खर्च जुटाउने भन्ने चिन्ताले पिरोलिरहेको छ । घर खर्च चलाउन र पढाउनका लागि उनी बिहान–बेलुका अरूको घरमा भाडा माझ्ने र दिउँसोको समयमा स्कुलमा पढ्न जाने गरेकी छिन् । बाबुको घर दङ्गीशरण गाउँपालिकाको मिरौली गाउँमा छ भन्ने सुनेकी छु तर कहाँ छन् के गर्छन् भन्ने थाहा नभएको बताउने रेखाले आमाले भने आफूहरु सानै हुँदा दोस्रो विवाह गरेर गएको उनी बताउँछिन् ।

उनले भनिन्, “आमालाई बाबुले हामी सानै हुँदा सधँै गाली गर्ने, कु टपिट गर्ने, गरीबकी छोरी भन्दै हेला गर्ने थालेपछि बाबुको यातना सहन नसकेपछि आठ वर्ष पहिले बुबालाई छोडेर दोस्रो बिहे गरिन् ।” आमाले दोस्रो विवाह गर्नुभयो, आफूहरुलाई केही समयसम्म सोही घरमा सँगै राख्नुभयो तर कान्छो बुबाका आमा बाले अर्काका सन्तानलाई किन पाल्ने भन्दै आमा सीता चौधरीलाई सधैँ गाली गर्न थालेपछि आफूहरु त्यहाँबाट निक्लेर आएको उनी बताउँछिन् ।

“केही दिनसम्म सडकका गल्लीमा रात दिन बितायौँ अनि काम खोज्दै गर्दा तुलसीपुर उपमहानरपालिका–६ को एक घरमा गयौँ । त्यही घरको अन्टीले खान बस्न दिनु भयो”, उनले भनिन्, “आमाले थाहा पाएपछि घरपरिवारलाई थाहा नदिएर भेट्न आउनुहुन्थ्यो । कहिले कपडा खाने कुरा ल्याई दिनुहुन्थ्यो ।”

पछि त्यही घरको अन्टीले तिमीहरु पढ्न जानुपर्छ भनी मामा घरको हजुर आमालाई खोज्न लगाउनुभयो । बोलाएर सम्झाएर हामीलाई जिम्मा लगाउनुभयो, रेखाले भनिन् । हजुरआमा देशनी चौधरी र मैले मजदूरी गरेर पैसा ल्याउँथ्यौँ, त्यसैबाट दाल, चामल नुन तेल किनेर खान्थ्याँै, उनले भनिन् । “हजुरआमा ७० वर्षकी हुनुहुन्छ उहाँले दिनभरि अरुको घरमा मजदूरी गर्नुहुन्छ । मैले भने बिहान बेलुका अरुको घरमा भाडा माझ्ने गरेकी छु । दिउँसो स्कूल जाने गरेकी छु”, रेखाले भनिन् ।

रेखाले तुलसीपुरमा रहेको सरकारी स्कूलमा कक्षा ४ मा पढ्छिन् भने निजकी बहिनी रेणुकाले पनि सोही विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेकी छन् । उनकी हजुरआमा देशनी चौधरीले तुलसीपुर उपमहानरपालिका–१२ को भुतेडाँडा भन्ने ठाउँमा रहेको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बसेकी छिन् ।

रासस समाचारदाता उनलाई खोज्दै उनको घरमा पुग्दा उनीले आफ्नो दुःखेसो पोख्दै भनिन्, “मैले छोरीलाई सानैमा बिहे गरिदिए, धन सम्पत्ति थिएन र पढ्न पनि पाइन, उसका श्रीमान् र घरपरिवारले त गरीबकी छोरी भन्दै दिनहुँ हेला गर्ने, खान नदिने र कुटपिट गर्ने गरेपछि छोरीले त्यो सहन नसकेर माइत आएर केही समयसम्म बसी पछि पुनः दोस्रो विवाह गरेर गइन् ।”

अहिले मलाई दुईवटी नातिलाई कसरी पढाऊँ र के खुवाऊँ भन्ने समस्या छ । त्यस्तै दुवै नातिनीको जन्मदर्ता नहुँदा समस्या भएको छ । स्कुलका सर । मेडमले जन्मदर्ता नभएपछि नाम लेखाइ दिन्नौँ भन्छ भन्दै उनले नातिहरुले घर आएर भन्छन्, त्यसले झन् समस्या भएको बताउँछन् ।

त्यसैगरी रोल्पा जिल्लाकी १४ वर्षीया कमला विक पनि तुलसीपुर उपमहानगरपालिका–५ को मुख्य बजारमा रहेको एक नास्ता पसलमा काम गर्दै आएकी छन् । घरमा खान पुग्दैन । आफू सानै हुँदा बुबाको निधन भयो । घर खर्च चलाउनका लागि पैसा कमाउन आफू यहाँ आएको उनले बताइन् । कक्षा ५ मा पढ्दापढ्दै छोडेर आएको बताउने कमलाका घरमा आमा र दुई बहिनी र एक भाइ रहेको उनी बताउँछिन् ।

रेखा र कमला मात्र होइन, यहाँका धेरै बालबालिकालाई अभिभावकको लापरवाही, चेतनाको अभाव, गरीबीका कारण पढ्ने लेख्ने समयमा अर्काको घरमा काम गर्नुेपर्ने बाध्यता रहेको छ । यसैबीच तुलसीपुर उपमहानरपालिका–६ वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने अभियानलाई तीव्र पारेको छ । सबै सरोकारवाला निकायलाई समेटेर ५७ सदस्यीय मूल समिति र पाँच वटा उपसमिति गठन गरेको छ ।

अहिले वडा कार्यालयले सो वडामा रहेका ७२ वटा टोल विकास संस्थामा पुगी जनचेतनामूलक कार्यक्रम गरीरहेको छ । त्यस्तै प्रत्येक टोल टोलका घरघरमा पुगेर बालबालिकालाई कसैले काममा राखेका छन्, छैनन् भनी सूक्ष्म तरिकाले निगरानी गर्ने, राखेको पाइएमा तुरुन्त घरमा फिर्ता पठाउनेसम्बन्धी घरधनीलाई अनुरोध गर्ने र अटेर गरे कानूनी कारवाही गर्नेसम्मका अभियान थालेको सो वडाले जनाएको छ ।

त्यस्तै, बालबालिकालाई काममा राख्ने गरेका होटल, ग्यारेज, र पसलमा पनि निगरानी बढाइएको वडासदस्य यमुना परियारले बताउनुभयो । त्यस्तै अभियानलाई प्रभावकारी बनाउन विभिन्न सञ्चारमाध्यममा सचेतनामूलक सामग्रीसमेत प्रचारप्रसारण गरिएको छ । टोलटोलमा पर्चा, पम्पलेट, माइकिङलगायतका कामलाई तीव्र पारिएको वडासदस्य परियारले बताउनुभयो ।

तुलसीपुर बजार क्षेत्रमा वडा नं ५ र ६ वडा पर्ने गर्दछन््् । विसं २०६८ मा साबिकको तुलसीपुर नगरपालिका र तुलसीपुरमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको न्युसिपिसी नामक संस्थाले तुलसीपुर बजार क्षेत्रमा बालश्रमिकको अवस्थाका बारेमा तीन महीना लगाएर स्थलगत अध्ययन गर्दा २५० बालबालिका घरमा, होटल, भरिया, सवारीसाधन, पसल तथा अन्य क्षेत्रमा श्रमिकको रुपमा पाइएका थिए । ती बालबालिकालाई लक्षित गरी धेरै कार्यक्रम सञ्चालन ग¥यौँ अहिले नागरिकमा बालबालिकालाई श्रममा लगाउन हुन्न भनी आम नागरिकमा चेतना बढेको छ, न्यूसिपीसीका अध्यक्ष निसा लामिछानेले बताउनुभयो ।

उहाँले तुलसीपुर उपमहानरपालिका–६ लाई बालश्रममुक्त वडा घोषणा गर्ने अभियान थालेपछि आफू खुशी भएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष नवराज लामिछानेले आफू वडालाई बालश्रममुक्त गर्न धेरै समय पहिलेदेखि लागिरहेको बताउनुभयो । उहाँले करीब छ महीनादेखि वडाका प्रत्येक टोलटोलमा पुगेर बालबालिकालाई श्रममा प्रयोग गरे÷नगरेको सूक्ष्म तरिकाले अध्ययन अनुसन्धान गर्दा १३ बालबालिकालाई घरेलु श्रमिक, मोटर ग्यारेज, होटलमा कामदारको रुपमा राखेको पाएको जानकारी दिनुभयो ।

ती बालबालिकालाई श्रममा लगाउनेलाई पहिचान गरी सरोकारवाला निकायसँग समन्वय गरेर घरघरमा बालश्रमका बारेमा जानकारी तथा दण्ड सजायको समेत कुरा राखेपछि धेरैले आफूले राखेका बालबालिकालाई सम्बन्धित अभिभावकको जिम्मा लगाएको पनि वडाध्यक्ष लामिछानेले बताउनुभयो । “अब भदौ २८ गते एक औपचारिक कार्यक्रमको आयोजना गरी वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने तयारी गरेका छौँ, यसमा आम टोलवासी, सञ्चारकर्मी, स्थानीय प्रहरी प्रशासन महिला तथा बालबालिका कार्यालय र बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले सहयोग गर्नुभएको छ”, अध्यक्ष लामिछानेले भन्नुभयो, “अब पनि अटेर गरे कानूनबमोजिमको सजाय गरेरै छाड्छौँ ।”

बालबालिकालाई श्रममा लगाउनेलाई तीन महीना कैद वा रु दश हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी व्यवस्था छ । तुलसीपुर उपमहानगरपालिका–६ मा १८ वर्षमुनिका चार हजार ५०० बालबालिका रहेका छन् ।

Comments