मानिस धर्म गर्न जाँदा रमाइलो होस् भन्ने ठान्दछन् भने गङ्गाजमुना झरना धादिङ, गोरखा, रसुवा नुवाकोट र काठमाडाँै, चितवन मकवानपुरका लागि उपयुक्त स्थान हो । पहाडको माथिबाट ठूला दुई झरना निरन्तर झरिहन्छ । सबै गाउँवासीले देखेर होइन आफ्ना पूर्खाले भोगेर कथा जसरी सुनाएर झरनाको महत्व सुनाउँदा प्रफुल्लित हुने यो झरनामा हरेक वर्ष ठूलो मेला लाग्छ ।

दुई झरना ठूलो गङ्गा र सानो जमुना झरनाको रूपमा परिचित छ । पारि डाडाँबाट छङछङ झरिरहेको देखिन्छ । पौराणिक तथा धार्मिकरूपले प्रसिद्ध मानिएको गङ्गाजमुना झरना उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा पर्दछ । गाउँपालिकाको नामसमेत पहिचानका लागि यही झरनाको नामबाट राखिएको भए पनि प्रचारप्रसार र प्रवद्र्धनको अभावमा उल्लेख्य मात्रामा पर्यटक तान्न सकिरहेको छैन ।

वरिपरिको गाउँमा पानी नपरेको अवस्थामा पानी पार्न यो झरनामा जलधारा गरेपछि पानी पर्छ भन्ने विश्वासमा मूलपानी, फूलखर्क, बुढाथुम, आगिनचोक, सल्यानकोटवासी वैशाख जेठमा भगवानसँग पूजा गर्छन् । हरेक वर्ष हरिबोधनी एकादशी (ठूली एकादशी) को दिन यहाँ ठूलो मेला लाग्छ । अघिल्लो दिन नै मानिस यहाँ मनोकांक्षा पूरा हुने हेतुले बत्ती बाल्न आउँछन् । रातभर जाग्राम बसेर बत्ती बालेपछि भोलिपल्ट नुहाइधुवाई गरेर महादेवको पूजा गर्ने चलन छ ।

यहाँ देशका धेरै ठाउँबाट मानिस मेला भर्न आउँछन् । पूजा गर्छन् र आफूले चिताएको कुरा मागेमा पूरा हुन्छ भन्ने विश्वासमा मानिस भाकल पूरा गर्नसमेत आउने गर्छन् । भक्तजनले फूलको डोली, जिउँदो परेवा र गाईको दूध चढाएर आफूले चाहेको कुरा माग्छन् । यो पूरा हुन्छ भन्ने मान्यता छ ।

काठमाडाँैमा रहेको पर्यटकीय यो झरना हेरेर दुई दिनमै काठमाडौँ फर्किन सकिन्छ । काठमाडाँैबाट एक सय किलोमिटरको यात्रा तय गरेपछि धादिङबँेसी पुगिन्छ । धादिङबँेसीबाट सल्यानटार ३० किलोमिटर पार गरेपछि २५ किलोमिटरको दूरी फूलखर्क हुँदै सुकभञ्ज्याङसम्म कच्चीबाटो जानुपर्छ । यो यात्रामा पनि अन्य पर्यटकीय र ऐतिहासिक स्थान हेर्न सकिन्छ ।

सल्यानटार पुगेपछि रानीपौवा ऐतिहासिकस्थल हो । नजिकै पाँचधारे छ । रानीपौवा पृथ्वीनारायण शाह गोरखाबाट नुवाकोटतर्फ जाँदा बाटोमा बास बस्न बनाइएको पाटी हो । पाँचधारे त्यतिखेर पानीको अभाव भएको बेला धारा हालेर पानीलाई व्यवस्थित गरिएको स्थान हो ।

सल्यानटार नेपालको ठूलो टारसमेत भएकाले मौसम सफा भएको बेला ज्यामरुङ क्षेत्रबाट हेर्दा रमणीय देखिन्छ । एउटै टारसम्म बारीका पाटा, केही रुख बिरुवा र टारको बिचबाट सडक छिचोल्ने बाटोले एक पटक हेरेर जो कोही पनि रमाउन सक्छ । सल्यानटारमा फल्ने मास उच्चस्तरको हुने भएकोले माग धान्नसमेत सकिरहेको छैन ।

सल्यानटारबाट फूलखर्कतर्फ जाँदा गोर्खातर्फका डाडाँ सर्लक्क लमतन्न परेर सुतेको देखिन्छ । नजिकै तल रहेको बूढीगण्डकीले डाँडाका फेदलाई समेत आकर्षक बनाएको छ । बूढीगण्डकीमा निर्माण हुने एक हजार २०० मेगावाटको जलाशययुक्त जलविद्युत् परियोजना निर्माणपछि भने यो बाटोको यात्रा अझै अविस्मरणीय खालको हुने छ । हरियो डाँडाकाँडा र नजिकै देखिने गणेश हिमाल शृङ्खलाले उकालोमा थाकेको बेलासमेत आराम दिन्छ ।

सुकभञ्ज्याङ पुगेपछि उकालो बाटो हिँड्नुपर्ने हुन्छ । गुरुङ गाउँ पार गर्दै झरना पुग्न हिँडेर दुई घण्टा लाग्छ । अलि विस्तारै जानेका लागि समय बढी पनि लाग्छ । वर्षाको समयमा ठूलो हुने र हिउँदमा अलि सानो पानीको झरनाले सबैको मन लोभ्याउने झरना गङ्गाजमुनाको रूपमा परिचित छ । पहाडको ठाडो ढिस्को उभिएको माथिबाट पानी झर्ने गर्छ ।

पानीको झरना बगिरहन्छ । पश्चितमतर्फ रहेको एउटा स्थानमा कुकुर धारा छ । यसको माथि गङ्गाजमुनामा नुहाइसकेपछि यसतर्फ नुहाउन आउने झक्तजनले सबै पापबाट मुक्ति पाइने भनाइ रहेको र मानिस कुकुरधारामा नुहाउन नपाए पनि मुख धोएर भए पनि जाने गरेका छन् । हालै गाउँपालिकाले यसको संरक्षणका गरी पर्यटकीय गतिविधि बढाउन केही काम थालेको छ । कुकुरकै आकारमा यहाँ मूर्ति बाइएको छ । । यही मूर्तिबाट पानी तल झर्छ । कुकुरधारामा नुहाएदेखि गत वर्षमा जानेर वा नजानेर गरिने पाप क्षय हुने जनविश्वास रहेको छ ।

झरना नजिकै पहराको बिचमा गङ्जाजमुनाको पूजा गर्ने स्थान रहेको छ । झक्तजन यो ठाउँमा पूजा गर्न जाँदा गत वर्षमा कठिन हुने गरेको थियो । कुनै बाटो नभएकोले पहरालाई समाउँदै जानुपथ्र्यो । यसवर्ष गाउँपालिकाले रु ४१ लाख र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले रु ५० लाख खर्च गरेर केही संरचना तयार गरेको छ । अहिले त्यहाँ सिँढी, रेलिङ, ठूला दुई प्रवेशद्वारको निर्माण भएको छ । पानी पर्दा वा घाम चर्केको बेला बस्नका लागि चावटा टहरा र शौचालयसमेत बनाइएकोले अब पर्यटकीय क्षेत्र बनाउन आफूहरुले यसमा जोड दिने गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले बताउनुभयो ।

गङ्गाजमुना पुग्ने पर्यटकका लागि साँस्कृतिक झाँकीले समेत स्वागत गर्ने गरी गाउँपालिकाले योजना बनाएको छ । झरनाबाट १० मिनेटको दूरीमा रहेको गुरुङ गाउँ महत्वपूर्ण गाउँ हो जहाँ बसेर पर्यटकले गुरुङ संस्कृति अनुभव गर्ने छन् भने घरबास निर्माण गरी बास बस्ने र गाउँमै फलेको चिज खाने व्यवस्था मिलाउन लागिएको छ ।

एकै दिनमा २० पर्यटक रातिको बास बस्नुपर्ने भएमा हाललाई व्यवस्थापन गर्न सकिने गरी १० घर गुरुङ गाउँमा मिलाउन लागिएको छ । आगामी वर्ष गाउँपालिकाले योजना बनाएर काम गर्ने हो भने अझै विस्तार गर्ने योजना रहेको गाउँपालिकाको छ ।

पर्यटक झरना मात्र हेरेर चित्त नबुझाउने हुनाले गङ्गाजमुनासँगै रहेको गुरुङ गाउँमाथि पयूँखर्क जान सक्छन् । यहाँ पहिले घलेहरुको दरबार रहेको भग्नावशेषसमेत रहेको छ । यसलाई संरक्षण गरी गङ्गाजमुना–घले दरबार मार्ग बनाउन सके थोरै समयका लागि नेपाल घुम्न आएका विदेशी पर्यटकले समेत उपभोग गर्न पाउने पर्यटन व्यवसायीको समेत धारणा छ । बेलुका आएर गाउँ बसेका पर्यटकले आफू उठ्ने वित्तिकै आँखा अगाडि हिमाल हेर्न पाउने छन् भने हिराडाडाँ हेर्दै गाउँको रोटी तरकारी खाएर न्यानो आतिथ्यता पाउने छन् ।

Comments