काठमाडौं – ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ। सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन्। उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन्।

उनकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन्। सैलुङले भारतीय सिआइपिइएलसँग ज्वाइन्ट भेन्चरमा एक अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले सिआइपिइएल÷सैलुङ जेभीले सार्वजनिक खरिद ऐनबमोजिम सबैभन्दा कम रकम कबोल गरेकाले ठेक्का पाएको बताए। उनले भने, ‘जेभीले लागत इस्टिमेटभन्दा झन्डै ५० करोड रुपैयाँ कममा कबोल गरेकाले ठेक्का पाएको हो।’ उक्त आयोजनाका लागि दुई अर्ब पाँच करोड रुपैयाँको लागत इस्टिमेट तयार पारिएको थियो।

निर्देशनालयका अनुसार पाँचवटा ठेकेदार कम्पनी बोलपत्रमा सहभागी थिए।जेभीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको हो। प्रमुख खत्रीले ठेकेदार कम्पनीले आवश्यक पाइप तथा निर्माण सामग्री संकलन गरेर तयारी थालेको बताए। ‘अहिले बर्खा भएकाले पाइपलाइन विस्तार गर्ने अनुमति पाएका छैनौं,’ उनले भने, ‘ठेकेदार कम्पनीले पूर्वाधार निर्माणका लागि पूर्वतयारी गरिरहेको छ। यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

Comments