एजेन्सी। भारतको चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्कविहिन बनेको छ । चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि निराश हुँदै फर्किएका छन् । उक्त संगठनका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको बताएका छन् । उनले भनेका छन्, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो । भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय गएका थिए । महत्वकाक्षीं अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे । सम्बोधन गर्न मोदी इसरो मुख्यालय पुगेका थिए ।

सम्बोधनपछि इसरो मुख्यालयबाट बाहिरिएका मोदीलाई इसरो प्रमुख कैलासवटिवु शिवनले अंगालो हालेर रोएका छन् । शिवन रुन थालेपछि मोदीले उनलाई अंगालो हालेर पिठ्युमा थपथपाएका थिए । मोदीले भावुक शिवनलाई हौसला दिइरहेको भिडियो अहिले भारतीय समाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ । प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

Comments