काठमाडौं । नेपाली सेनाको ट्रकको ठक्करबाट त्रिपुरेश्वरमा एक जना मोटरसाइकल चालकको निधन भएको छ । निधन हुनेमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका सहसचिव लेखबहादुर पुन रहेका छन् । त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा१ग २४५६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको बा८६प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक पुनको निधन  भएको हो । प्रहरीका अनुसार ट्रक चालक जीवन अधिकारी र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

खटबाट खस्दा एकको निधन 

भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा शुक्रबार एकजनाको निधन  भएको छ ।  बाँसको खट भाँचिदा खसेर दुईजना घाइते भएको र घाइतेमध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । अर्का घाइते भारत घर भई काभ्रे बनेपामा नै बस्ने १८ वर्षीय सहजात अन्सारीको ट्रमा सेन्टर काठमाडौँ सिफारीश भएको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

Comments