काठमाडौं, २ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको घटनामा छानविनका लागि भन्दै पक्राउ परेका रवि लामिछानेलाई भेट्न नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु हिरासतमा पुगे । उनले घटनाको निश्पक्ष छानविन हुनुपर्ने भन्दै प्रहरी प्रशासनलाई पनि त्यस्तै अभिब्यक्ति दिए । तर उनी रविलाई भेट्न गएको विषयलाई लिएर बाहिर भने एउटा प्रसंग चर्चामा ल्याइएको छ । प्रहरी हिरासतमा रहेका रविको पक्षमा नेपाली कांग्रेस सिंगो पार्टी रहेको चर्चा गरिएको छ । यद्धपी चितवनमा रविका पक्ष र विपक्षमा भइरहेका प्रदर्शन र नारावाजी नियन्त्रण गर्ने कुरामा चितवन काँग्रेसले भने नेकपाको साथ दिएको छ ।

न्यूज २४ टेलिभिजनका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल र नर्स अस्मिता कार्की न्यायिक हिरासतमा रहेका छन् । गएको बिहीबार उनीहरुलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएसँगै देशविदेशमा उनको पक्ष र विपक्षमा सामाजिक सञ्जाल र सडक तातिरहेको छ ।कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहेको भन्दै पत्र पठाएको चर्चा चलेको छ । यद्धपी कांग्रेसले सार्वजनिक रुपमा भने कुनै अभिब्यक्ति दिएको छैन । कांग्रेस नेता दिलेन्द्र प्रसाद बडुमार्फत सभापति देउवाले पत्र पठाएको चर्चा चलेको हो ।

सभापति देउवाले लामिछानेको नाममा पत्र नै पठाएर आफुहरुको साथ रहेको उल्लेख गरेको बताइएको छ । रवि न्यायिक हिरासतमा रहेको स्थान जिल्ला प्रहरी कार्यालय चितवन पुगेर शनिबार नेता बडुले रविलाई भेटेका थिए । रविलाई भेटेर बाहिर निस्कँदा नेता बडुले पूर्वाग्रह नराखी घटनाको छानबिन हुनु पर्नेमा जोड दिएका थिए ।

पुडासैनीकी श्रीमतीले रवि लामिछानेसहित तीन जनाविरुद्ध दिइन किटानी जाहेरी

पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आज प्रहरीमा किटानी जाहेरी परेको छ। पुडासैनीकी श्रीमती सम्झनाले प९क्राउ परेकाविरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाडौँमार्फत चितवन प्रहरीमा किटानी जाहेरी दिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

उनका अनुसार आज परेको पूरक जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइसकिएको छ। चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले प्रहरी हिरासतमा रहेका तीनै जनाको नाममा जाहेरी परेको जानकारी दिए। यसअघि घटनाको अनुसन्धानका लागि भनेर परिवारले प्रहरीमा जाहेरी दिएका थिए।

पुडासैनीको यही साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा फेला परेको थियो। घ९टना हुनुअघि उनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पु-याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको श्रव्यदृश्य सामग्रीे फेला परेको थियो।

पुडासैनीले मर्नुअघि मोबाइलमा रेकर्ड गरेको उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलार्ई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो। शुक्रबार आत्महत्या दुरुत्साहन अन्तर्गतको मुद्दामा चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।

मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसैले कसैलाई गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन। यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने उल्लेख छ। रासस

Comments