काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले कुनै पनि आरोपीलाई तथ्य र प्रमाणको आधारमा कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् । सन्तोष निरौलासँगको कुराकानीका क्रममा उनले बाहिर हुलउज्जत तथा नाराबाजीको आधारमा नभई प्राप्त र उपलब्ध प्रमाण र तथ्यलाई आधार मानेर कारबाही प्रक्रिया अघि बढाउने गरिएको जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधन प्रकरणमा सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कंडेल तथा नर्स रुकु भनिने अस्मिता कार्की प*क्राउ र उनीहरुमाथि हुने कारबाहीका सम्बन्धमा डीआईजी पोखरेलले बाहिर आएका हल्ला, नाराबाजीमा उठाइएका विषयमा भन्दा पनि तथ्य र प्रमाणमाथि गरिने अनुसन्धानको निष्कर्ष सहित अदालत जाने र त्यहाँबाट हुने फैसलाको आधारमात्रै दोषी र निर्दोष को हुन् भन्न सकिने बताए ।

फरक फरक कोणबाट विभिन्न प्रमाण र आधारमाथि अनुसन्धान हुने जानकारी दिएका उनले प्रमाण, तथ्य, प्रविधिको प्रयोग र विशेषज्ञबाट गराइने अनुसन्धानले देखाएपछि मात्रै वास्तविकता बताउन सकिने जानकारी दिए । निर्दाेष व्यक्ति नफसून्, दोषी नउम्कून भन्नेमा ध्यान दिएर निष्पक्ष ढंगबाट प्रहरीले अनुसन्धान गर्ने जानकारी दिँदै उनले भने, ‘कसैलाई पनि चिन्दैनौँ, कसैमाथि अन्याय हुन पाउँदैनौँ, न्याय सबैलाई दिनुपर्छ, त्यो न्याय तथ्य र प्रमाणको आधारमा हुनु पर्छ, अनुमानको आधारमा हुनुहुँदैन ।’

Comments