एजेन्सी । डिस्कभरी नेटवर्कको प्रसिद्ध कार्यक्रम म्यान भर्सेस वाइल्डको विशेष एपिसोडमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फिचर गरिने भएको छ। मोदी बेलायती प्रस्तोता वियर ग्रिल्ससँगै टेलिभिजनमा झुल्कनेछन्। उत्तराखण्डको जिम कोर्बेट नेशनल पार्कमा उक्त कार्यक्रम खिचिएको हो।

प्रस्तोता ग्रिल्सले हाल आक्कलझुक्कल मात्र नयाँ अंक उत्पादन गर्ने गरेका छन्। सन् २०११ बाट कार्यक्रमको उत्पादन बन्द भएयता टेलिभिजनमा पुरानै अंक पुनर्प्रसारण हुँदै आएका छन्। सन् २०१५ मा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई लिएर विशेष कार्यक्रम बनाएका उनले यसपाली मोदीसँग सहकार्य गरेका हुन्। वातावरणीय सुरक्षामा जनचासो बढाउन विशेष कार्यक्रम निर्माण गरिएको ग्रिल्सले बताए।

वातावरणीय परिवर्तन र वन्यजन्तु संरक्षणमा मोदीको चासो

ग्रिल्सले मोदीलाई आत्मरक्षाको तौरतरिका सिकाइरहँदा उनीहरुबीच वातावरणीय परिवर्तन र वन्यजन्तु सुरक्षाबारे पनि चर्चा हुनेछ। भारतले बाघको संख्या दोब्बर बनाएर हालैमात्र बन्यजन्तु संरक्षणको क्षेत्रमा ठूलो सफलता हात पारेको छ। कार्यक्रममा मोदीले आफ्नो हिमाली क्षेत्रको बसाइबारे पनि चर्चा गर्नेछन्। किशोरावस्थामा उनले भारत तथा नेपालका हिमाली क्षेत्रमा अध्यात्म–साधना गरेका थिए। उनले उक्त साधनमार्फत आफ्नो जीवनमा आएको परिवर्तनबारे जानकारी गराउनेछन्।

बाघ मार्ने तरिका सिकाउनेछन् ग्रिल्सले मोदीलाई

उक्त विशेष टेलिभिजन श्रृंखलाको प्रोमो सार्वजनिक भइसकेको छ, जसमा ग्रिल्सले मोदीलाई बाघ मार्ने तरिका सिकाइरहेको देख्न सकिन्छ। ‘तपाईं भारतको महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ, तपाईंको सुरक्षा गर्नु मेरो दायित्व हो,’ मोदीको हातमा चक्कु र लठ्ठीको मद्दतले बनाइएको हतियार थमाउँदै ग्रिल्स भन्छन्, ‘यदि बाघ आइहाल्यो भने यसले तपाईंको रक्षा गर्नेछ।’ जवाफमा मोदीले भने ‘आफ्नो संस्कारले कसैको ज्यान लिन अनुमति नदिने’ बताउँछन्।

Comments