काठमाडौं । बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० को एफआइ भर्सन भदौ १० गतेदेखि भृकुटीमण्डपमा हुने नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरेको छ । यो मोटरसाइकल भारतीय बजारमा भने फेस्टिभ सिजनमा मात्र आउने छ । यो मोटरसाइकल बजाजका लागि नेपालको आधिकारीक वितरक एचएच बजाजले नेपालमा नै उत्पादन गरेको हो ।

यो मोटरसाइकल बजाजको नवलपरासीमा रहेको प्लान्टमा निर्माण भइरहेको कम्पनीले जनाएको छ । एनएस २०० एबीएससहित एफआई इन्जिनमा आउने छ । २०० सीसी नेकेड रोडस्टर मोटरसाइकल एनएस २०० उच्च प्रदुषण मापदन्ड अनुसारको हुने छ । हाल, कार्बुरेटर सेटअपमा रहेको यो मोटरसाइकल नियोन ब्ल्यु, एल्लो र रेडस्टिकर सहित विभिन्न बडी प्यानल र अलोय रिमम आउने कम्पनीले जनाएको छ ।

यसमा अन्तर्राष्ट्रिय स्पेकको फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९ हजार ७५० आरपीएममा २३.१७ बीएचपी पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ । फुल एलइडी हेडलाइट र सेमि डिजीटल इन्स्ट्रुमेन्ट कन्सोलको विशेषता प्रदान गरिएको बाइकमा एनालग टेकोमिटर जस्ता विशेषता दिइने छ । हाल नेपाली बजारमा एनएस २०० कार्बुरेटर भर्सनमा उपलब्ध रहेको एनएस २०० को मूल्य ३ लाख १९ हजार ९०० रहेको छ । तर, नयाँ इन्जिनमा एबीएससहित आउँदा मूल्य भने केही बढी हुने अनुमान गर्न सकिन्छ । उक्त बाइकको मूल्य ४ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

Comments