काठमाडौं, ७ साउन । पछिल्लो पटक गीत संगितका क्षेत्रमा निकै चोरीको आरोप लाग्न थालेको छ । प्रकाश सपुतको गलबन्दी गीतवाट सुरु भएको यो शिलशिला अहिले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ सम्म आइपुगेको छ । सो फिल्ममा समावेश गीत ‘दूबो फुल्यो’ को संगीतलाई पनि चोरीको आरोप लागेको छ । कालीप्रसाद बास्कोटा र शर्मिला बर्देवाले आवाज दिएको गीत ‘कहिले फोटो सिरानीमा’ बाट संगीत चोरी गरिएको आरोप लगाइएको हो ।

‘कबड्डी ३’ मा समावेश उक्त गीतको संगीत एसडी योगीले तयार पारेका हुन् । उनीमाथि आलोक श्रीले संगीत चोरीको आरोप लगाएका छन् । ‘कहिले फोटो सिरानीमा’ बोलको गीतमा संगीतकार आलोक श्रीले संगीत दिएका छन् । उनले फिल्ममा समावेश गएको गीतमा आफ्नो संगीत चोरी भएको आरोप लगाएका छन् । उनले एसडी योगीले आफ्नो संगीतबाट प्रभावित भएको आफूसँग स्वीकारेको पनि बताए ।

‘एसडी योगी भाइले रियालाइज गर्नुभयो, मैले त सीधै तिम्रो उमेर बराबरको मेरो संगीत करिअर छ भनेँ, यसरी चोरी गर्न मिल्दैन,’ आलोक श्रीले भने । गीत चोरी भएपछि आलोकश्रीले आफू कानूनी उपचारमा जान पनि पछि नपर्ने बताए । ‘उहाँहरु सहमतिमा आउनुभएन भने कानूनी रुपमै अगाडि बढ्छु,’ उनले भने । यता ‘कबड्डी ३’ को गीतमा संगीत दिएका संगीतकार एसडी योगीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

Comments