नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ ।पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उहाँले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गर्नुभयो । “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी एकता टुङ्ग्याउँछौँ”, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य यही साउन महीनाभित्र पार्टी एकताका बाँकी रहेका काम पनि टुङ्ग्याउने छौँ, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक पनि बस्ने छौँ ।” उहाँले केन्द्रीय कमिटी बैठकबाट देशव्यापीरुपमा कार्यक्रम बनाएर जनतासमक्ष समेत जाने बताउनुभयो ।

उहाँले अध्यक्ष दाहालले पुष्पलालले देखेको सपना आफूहरुले पार्टी एकता गर्दै जनवादी क्रान्ति मौलिक ढङ्गले पूरा गरेको धारणा राख्नुभयो । उहाँले पुष्पलाल नै विभाजित पार्टीलाई एकताबद्ध गर्नुपर्दछ भनेर विसं २०२५ मा गोरखपुर सम्मेलनमार्फत एउटा झण्डा उठाएको समेत बताउनुभयो । नेता दाहालले पुष्पलालको मानसिक सन्तति आफूहरु भएको उल्लेख गर्दै समाजवादको यात्रा पनि उहाँकै सपनानुसार पूरा गरिने दृढता व्यक्त गर्नुभयो ।

“विभाजन भएको पार्टीलाई फेरि एकताबद्ध र आन्दोलित गर्ने, दीर्घकालीन सशस्त्र सङ्घर्षमार्फत जनवादी क्रान्ति रणनीति अगाडि बढाउने अनि पञ्चायतका शक्तिसँग मिलेर जाने पहलको नेतृत्व पनि पुष्पलालले नै गर्नुभएको हो”, उहाँले भन्नुभयो, “त्यसैले हामी सबै पुष्पलालकै सन्तति र उत्तराधिकारी हाँै ।”

उहाँले पुष्पलालले देखेको समाजवाद तथा समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्नका लागि पार्टीलाई विचार र राजनीतिका आधारमा, साङ्गठनिक मूल्यमान्यताका आधारमा, विधि र प्रक्रियाको आधारमा जनतासँगको सम्बन्धको आधारमा सुदृढ गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

Comments