काठमाडौं, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल सञ्चालन संचालनमा जर्मनीले चासो देखाएको छ । जर्मनीले सरकारलाई औपचारीक पत्र पठाउँदै आफु इच्छुक रहेको बताएको छ । यस अघि पनि जर्मनीका प्रतिनिधिले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेर रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि इच्छुक रहेको जनाएको थियो । पछिल्लो पटक दोस्रो पत्र पनि जर्मनीको म्युनिखले औपचारिक रुपमा पठाएको मन्त्रालय श्रोतले जनाएको छ ।

५० वर्षका लागि विमानस्थल सञ्चालनको माग गर्दै म्युनिखले औपचारिक पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा पठाएको हो । यसअघि गत फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणसँग औपचारीक प्रस्ताव गरेको म्युनिखले दोस्रो पटक भने पत्र नै पठाएर चासो ब्यक्त गरेको छ ।

सरकारले सो विमानस्थल ‘जिटुजी’ मार्फत सञ्चालनका लागि दिने निर्णय गरेको जानकारी पाएको जर्मनीले यस्तो औपचारीक प्रस्ताव पठाएको हो । तर अहिले नै जर्मनीलाई नै दिने भन्ने निर्णय भने मन्त्रालयको तर्फवाट भएको छैन । सरकारले विगत लामो समयदेखि जर्मन कम्पनी लगायत अन्य देशका कम्पनीसँग पनि छलफल गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले स्वीकार गरेका छन् । तर उनले औपचारीक निर्णय भने भइनसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जिटुजीमार्फत विमानस्थल सञ्चालन गर्ने गरी काम गर्न निर्देशनसँगै प्राधिकरण र मन्त्रालय नेतृत्वले विदेशी कम्पनीहरुसँग छलफल सुरु गरेका हुन् ।

कति वर्षका लागि दिने, कुन मोडालिटीमा जाने, नेपालले त्यसबापत के पाउनेलगायत धेरै विषय आउने र एउटै पत्रले सबै निर्णय नहुने भएकाले कुन कम्पनी वा देशसँग सम्झौता हुन्छ भन्न नसकिने बताइएको छ । म्युनिखले ५० वर्षका लागि विमानस्थल सञ्चालनका लागि माग गरेको छ।

विमानस्थललाई आगामी सन् २०२० को जनवरीदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। म्युनिखसँगै साउदी अरब, कतार लगायत देशले समेत विमानस्थल सञ्चालनका लागि चासो दिएको छन्। एसीयाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सन् २०१६ देखि विमानस्थल निर्माण सुरु भएको थियो।

Comments