काठमाडौं । प्रधानमन्त्री केपी ओली केही दिनयता आलोचित बन्ने मार्ग धमाधम बन्द गर्ने अभियानमा जुटेका छन् । डेढ वर्षको शासनकालमा सबैलाई एक्लै पेलेर हिँड्न खोजेपछि ओली आफैं एक्लिँदै मात्र होइन, प्रधानमन्त्रीकै पद पनि धरापमा पर्न लागेको थियो । पार्टीभित्रै अल्पमत र बहुसंख्यक जनतासमेत विपक्षमा उभिएको बुझेपछि बल्ल प्रधानमन्त्री ओली मत्थर भएका छन् । अहिले उनले आफ्नो कार्यशैली सुधार गर्दै सबैसँग सल्लाह र सुझाव लिन थालेका छन् ।

पछिल्लो समय ओलीले आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र सञ्चारमन्त्री गोकुल बास्कोटाको समेत आवश्यक मात्र सल्लाह लिन थालेको बालुवाटार स्रोतले जानकारी दियो । केही दिनअघि मात्रै आफ्नो सबैभन्दा कट्टर आलोचक घनश्याम भुसाललाई ६ घन्टा बालुवाटारमा गोप्य भेटवार्ता गरेका ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि पार्टी सञ्चालनबारे छलफल गर्न थालेका छन् ।

प्रधानमन्त्री ओली एक वर्षको अवधिमा सबैभन्दा बढी विवादित नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ बाट बनेका थिए । सो कार्यक्रमको कन्सेप्टर विष्णु रिमाल थिए । उनले आफन्त मनोज पाण्डेलाई सञ्चालक बनेर नेपाल टेलिभिजनबाट प्रसारण गर्न लगाएका थिए । कार्यक्रम सुरुदेखि नै विवादमा परेको थियो । जनतासँग प्रधानमन्त्री भन्दा पनि मनोज पाण्डेले प्रधानमन्त्री ओलीको भजन कीर्तन गाउने, स्तुति गर्ने गरी कार्यक्रम चलाएपछि पार्टीभित्रै आलोचना भएको थियो ।
जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द गर्न प्रधानमन्त्री ओलीलाई चौतर्फी दबाब परेको थियो । ओलीले थेग्न सक्नेसम्म मात्र थेगेका थिए । नसकेपछि बुधबारबाट कार्यक्रम बन्द गरिएको घोषणा गरियो । त्यो पनि होटल सोल्टीमा भव्य कार्यक्रम गरेर । हजारौलाई निमन्त्रणा गरिएको सो पार्टीमा लाखौं रुपैयाँ राज्यकोषको खर्च भएको छ ।

जनतासँग प्रधानमन्त्री कार्यक्रमसमेत आफैले चलाउन पाएको आधारमा मनोज पाण्डेले सिंहदरबारभित्रै चन्दा आतंक मच्चाएको समाचार मिडियामा आउन थालेको थियो । सामान्य डकुमेन्ट्रीमा समेत उनले एउटै मन्त्रालयबाट २५ लाखसम्मको बिल पठाएर पैसा असुल्ने गरेको बताइएको छ ।

मनोज पाण्डेलाई हटाइएपछि बुधबार नेकपा निकट पत्रकार संगठनका सहसंयोजक गणेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई सधैभरि छल्न सकिन्न भन्ने तथ्य आज फेरि पुष्टि भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो नाम बेचेर कमाउ धन्दा चलाउने एउटा पात्र हटाई दिनुभएको छ । अब हटाउने समय सुरु भएको छ ।’

पाण्डेले बालुवाटार सचिवालयमा रहँदा र टेलिभिजन कार्यक्रम चलाउँदा जबर्जस्ती चन्दा आतंक मच्चाएर करोडौैं कमाएको नेकपा निकट पत्रकारहरूको भनाइ छ । त्यही आधारमा उनले मामा विष्णु रिमालसँग मिलेर नयाँ अनलाइन सञ्चालनमा ल्याउन दरबारमार्गमा कार्यालय खोलेका हुन् । सो अनलाइनको सम्पादकमा हिमाल पत्रिकाका रामेश्वर बोहरा बन्ने बताइएको छ ।

साभार क्यानेडा नेपाल डटकम

Comments