धनगढी, २ साउन । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका–३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । विहिवार साँझ धनगढीको निलम होटल अगाडि विस्फोट भएको प्रदेश नम्बर सातका प्रहरी प्रमुख डीआईजी तारणी लम्सालले बताएका छन् । तर के वस्तु विस्फोट गराइएको हो भन्ने अझै खुल्न सकेको छैन ।

प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीआईजी लम्सालले बताएका छन् । उनका अनुसार घटनास्थलबाट एक थान नाइन एमएमको पेस्तोल समेत बरामद भएकाले घटना विप्लव समुहले गराएको हुनसक्ने आशंका गरिएको छ । घाइते छ जनाको धनगढीस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको डीआईजी लम्सालले बताए ।

अहिले सीमा नाका, विभिन्न होटलहरु सर्च अप्रेसन जारी गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिआईजी लम्सालले बताए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक ९एसपी० सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ ।

घाइतेमध्ये दुई जना विप्लव समूहकै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट देखिएको स्रोतले बताएको छ । घाइते लक्ष्मण सेराला र राम सिंह दुवैजना कञ्चनपुरको बेलाडाँडीका भएको खुलेको छ । घाइते हुनेहरूमा राम सिँह बझाङ (विप्लब समूह),लक्ष्मण सेरला बेलौरी ५ कन्चनपुर (विप्लब समूह),मोबिन खान (ठेगाना नखुलेको), जितेन्द्र यादव (धनगढी ४ बोराडाँडी), केशवराज पाण्डे होटल मालिक रहेको प्रहरीले जनाएको छ ।

Comments