धनगढी विहिवार साँझ शक्तिशाली विस्फोट भएको छ । शंकास्पद वस्तु विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । के वस्तु विस्फोट भएको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन ।

धनगढीको सहीद गेट नजिकै रहेको निलम होटलमा शक्तिशाली विस्फोट भएको हो । विस्फोट हुँदा ठेगाना नखुलेका राम सिंह, लक्ष्मण सेरेला, मोविन खान र धनगढीका जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डेय घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राम सिंह र सेरेलाको अवस्था गम्भीर रहेको छ। घाइतेको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरे पनि सिलिण्डर जस्ताको त्यस्तै रहेको जनाएको छ। घटनास्थलमा पेस्तोल पनि फेला परेको छ।

सुरुमा सिलिण्डर विस्फोट भएको आशंका गरेर प्रहरीले उद्दार सुरु गरेको थियो । तर पछि स्थलको प्रकृति हेर्दा सिलिण्डर विस्फोट नभएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ।

Comments