विराटनगर, २ साउन । पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका १० शिविर डाँडामा बस र पिकअप भ्यान ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन्।

एक जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु भएकाको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । छैन। बसका सह(चालक कानेपोखरी गाउँपालिका ३ का ३१ वर्षीय टिकाराम थापाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। थापाको शव पोस्टमार्टमका लागि विराटनरको कोसी अस्पतालमा राखिएको छ।

बसले किचिरहेको अवस्थामा घटनास्थलबाट एकजनाको शव निकालेर पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतकको गोजीमा ३० रुपैयाँ पैसा बाहेक कुनै पनि परिचय खुल्ने कागजात नभेटिएकाले सनाखत हुन सकेको छैन।

बिहीबार बिहान ९ बजेतिर भएको दुर्घटनामा घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। मोरङको कानेपोखरी ३ की ६० वर्षीय दुर्गादेवी बस्नेत र कानेपोखरी ४ की ५० वर्षीया खिनमाया लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस्नेतको न्युरो र लिम्बूको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअप भ्यान ठोक्किएर दुर्घटना भएको हो। बस मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलोबाट काँकडभिट्टातर्फ गइरहेको थियो। भ्यानसँग ठोक्किएपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

Comments