काठमाडौं । लामो समय पृथकतावादी आन्दोलनमा लागेका डा सिके राउतको जिवनमा आधारीत चलचित्र बन्ने भएको छ । उनी केही समय अघि मात्र पृथकतावादी आन्दोलन छोडेर मुलधारको राजनीतिमा प्रवेश गरेका थिए । उनले स्वतन्त्र मधेश अभियनमा लामो समय खर्चेका थिए । माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा ‘डा सिके राउत’ नामको फिल्म बन्ने भएको हो । दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहको निर्देशनमा चलचित्र निर्माण हुन लागेको बताइएको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिइएको हो । भोजपुरी फिल्मका ‘पावर स्टार’ को रुपमा परिचित परदेशी शाहले डा सीकेको भुमिका निभाउने प्रारमिभक जानकारी दिइएको छ । फिल्मको टिजर पनी सार्वजनीक गरिएको छ ।
कार्यक्रममा सिके राउत स्वयं उपस्थित थिए । विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा फिल्मको भदौबाट छायांकन हुने बताइएको छ । फिल्म आउँदो छठ पर्वमा रिलिज हुने बताइएको छ ।

पवन गौतमले खिच्ने फिल्ममा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहने जानकारी दिइएको छ । बन्दे प्रसादले फिल्मको सम्पादन गर्ने जिम्मेवारी पाएका छन् । ‘डा सिके राउत’ मा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्णलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा अभिनेत्रीको भने अहिलेसम्म टुंगो नलागेको निर्माण कम्पनीले जनाएको छ ।

रेवन्त विक्रम थापाको द्वन्द्व निर्देशन रहने फिल्मलाई कमर्शियल बनाउन सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी काल्पनिक कथा जोडिने बताइएको छ । मधेस आन्दोलनका घटना फिल्ममा उतारिने डा सीके राउतले बताए ।

Comments