दाङ – ग्वार खोलामा आएको बाढीले बस बगाएको छ । खोलामा धुँदै गरेको बसलाई एक्कासि आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । प्रहरीले चालक र सह–चालकलाई भने सकुशल उद्धार गरेको छ । ना ४ ख ३५६५ नम्बरको बसका चालक रमेश थापा र सह-चालक निर्मल पुनको सकुशल उद्दार गरिएको हो । ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाही, सशस्त्र प्रहरीका डिएसपि रोम बहादुर कार्कि लगायतको टिम खोलामा पुगेर चालक र सहचालकको उद्दार गरिएको छ। उद्दारमा खटिएका डिएसपि शाहि खोलाको कचवेमा चिप्लिएर सामान्य घाइते भएका छन्। उनको टाउको र ढाडमा चोट लागेको छ।

त्यस्तै वर्षापछि आएको पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकखण्ड पहिरोले बिहीबारदेखि अवरुद्ध थियो । सिद्धबाबा नजिकै तथा केराबारी क्षेत्रमा पहिरो खसेपछि यायात अवरुद्ध बनेको थियो । डोजर लगाएर पहिरो हटाएपछि दुईतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरो खस्दा जिल्लाका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ । यातायात बन्द भएपछि यात्रु मारमा परेका छन् ।

यस्तै सदरमुकाम तानसेनदेखि रामपुर जोड्ने आर्यभन्ज्याङ–रामपुर सडकखण्डको विभिन्न भागमा पहिरो खसेपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन । सो सडकखण्डको बेलडाँडा, बासुका, बिरकोट, ताहुँलगायत पहिरो खसेको छ । रामपुर हँुदै तनहुँको भिमाद जोड्ने भीमकाली लोकमार्ग हिलाम्य हुँदा यात्रा कष्टकर बनेको छ । उक्त सडक भएर रामपुरदेखि काठमाडौँ, पोखरा, भिमाद र नारायणघाट जाने यात्रु बाटोमै अलपत्र छन् । यस्तै रामपुर हुँदै नवलपुरको डेढगाउँ, दलदले र कावासोती जोड्ने सडक हिलाम्य भएको छ । यात्रु गन्तव्यसम्म पुग्न समस्या भएको रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले जानकारी दिनुभयो । अहिले डोजर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको जब्गादी प्रहरी चौकीले जनाएको छ । सडक हिलाम्य हुँदा रामपुर भएर विभिन्न ग्रामीण भेगतर्फ गएका सवारी साधनबीच बाटोमै थन्किएका छन् ।

Comments