काठमाडौँ – रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीको बगरमा १८ जनाको उद्धारका लागि नेपाली सेनाको टोली त्यसतर्फ गएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानराज पाण्डेका अनुसार उद्धारका लागि सेनाको टोली घटनास्थल गएको हो। उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिए पनि बेलुकासम्म उडेको छैन । गाईवस्तु चराउन गएका स्थानीय बासिन्दाहरु बाढीका कारण फसेका हुन्।

फसेका मध्ये एक जना बेपत्ता भएको र अरुले उद्धारका लागि हारगुहार गरिरहेको बताइएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार वृद्धावन नगरपालिका–१ बलेरीखोरस्थित बागमती नदी फसेकालाई उद्धारको लागि सेनाको हेलिकप्टर मगाइएको छ ।

आठ घण्टादेखि अवरुद्ध विमानस्थल सञ्चालन : यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएका कारण आठ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सेवा सञ्चालन भएको छ ।

विमानलाई तानेर रिमोर्ट पार्किङमा लगिएपछि साँझदेखि विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले राससलाई जानकारी दिनुभयो । धस्सिएको विमानलाई विमानस्थलको पूर्वतर्फ बनेको नयाँ रिमोट पार्किङमा लगिएको छ ।

नेपालगञ्जबाट काठमाडौँ आएको चालकदलसहित ६६ यात्रु सवार यति एयरलाइन्सको एटिआर–७२ विमान विमानस्थलमा अवतरणका क्रममा बिहान ११ः५ बजे चिप्लिएको थियो । विमान धावनमार्गबाट करीब १०० मिटर पर घाँसे मैदानमा धस्सिएको थियो । विमान धस्सिएपछि विमानस्थलको सम्पूर्ण उडान अवरुद्ध भएको थियो । नेपाली, सेना, नेपाल प्रहरी र विमानस्थलका प्राविधिकसहितको टोलीले विमानलाई हटाएको थियो ।

तस्बिर फाइल

Comments