काठमाडौं । अविरल वर्षाले शुक्रबार काठमाडौंको कलंकी क्षेत्र जलमग्न बनेको छ । कलंकी क्षेत्रका बलम्बु, त्रिवेणी र बल्खु खोलाको पानी मानव बस्तीमा पस्दा जनजीवन अस्तव्यस्त बनेको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कलंकी, सतुंगल, बल्खु लगायतका क्षेत्र जलमग्न बनेको हो ।

मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालयसमेत डुबानमा परेको छ । कलंकीको खसीबजार, मैत्रीनगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी पसेको छ ।
अव्यवस्थित बस्ती विस्तारका कारण नदीको पाँच सय मिटर असपासका क्षेत्रमा खोला पसेको थियो। खोलाले त्यस क्षेत्रका घरको भूइँ तला डुबाएको स्थानीयले बताएका छन्।

प्रहरीका अनुसार पानीमा फसेका अन्य ५० जना बढीको सकुशल उद्दार भइसकेको छ । उद्दारका लागि सशस्त्र प्रहरी बलको टोली पनि खटिएको थियो । सतुंगल, बालकुमारी, थानकोट, विष्णुदेवी खोला किनारमा बसोबास गर्ने व्यक्तिको उद्दार गरिएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

Comments