यती एयरको विमान धावनमार्गमा चिप्लिएपछि त्रिभुवन विमानस्थल ५ बजेसम्मका लागि बन्द गरिएको छ । दिउसो १२ वजेसम्मका लागि बन्द गरिएको विमानस्थल अझै संचालन हुन समय लाग्ने भएको छ । शुक्रबार बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको थियो । नेपालगन्जवाट आएको विमान त्रिभुवन विमानस्थलमा धावनमार्गमा चिप्लिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) ले साँझ ५ वजेसम्म विमानस्थल बन्द गरिएको जनाएका छन् ।

सुरुमा साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो। त्यसपछि पनि चिप्लिएको विमान निकाल्न नसकिएपछि २ बजेसम्म नोटामको समय थप गरिएको थियो। सवा २ बजेसम्म पनि जहाज निकाल्न नसकिएपछि समय थप्दै ३ बजेसम्म पुर्याइएको थियो । ३ बजेसम्म पनि जहाज निकाल्न नसकिएपछि ५ बजेसम्मलाई अद्यावधिक गरिएको छ। चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ।

यतिको जहाज अवतरणको क्रममा रनवेबाट ट्याक्सी वेमा पुगेको छ। अवतरणको क्रममा यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको छ। यात्रु तथा चालकदलका सदस्यहरु सकुशल रहेका छन्। काठमाडौं आउँदै गरेका नौ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् भने काठमाडौंबाट उडान हुनुपर्नेदशवटाको उडान स्थगन भएको छ। हाल बंगलादेशबाट आएको विमान भारतको दरभंगामाथिको आकाशमा होल्डमा फन्‍को लगाइरहेको छ भने दोहाबाट आएको कतारको जहाज भारततर्फ डाइभर्ट भएको छ। विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन्।

Comments