काठमाडौं, २७ असार । लगातारको वर्षाले काठमाडौं स्थित सिंहदरवारको पर्खाल समेत भत्केको छ । तीनदिन देखि परेको लगातारको वर्षाले कमजोर बनाएको सिंहदरबारको अनामनगर तर्फको पर्खाल ढलेको हो । पर्खाल ढल्दा एक जना घाइते समेत भएका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारले घाइतेको अवस्था सामान्य रहेको जनाएको छ ।

पर्खाल भत्किएपछि अनामनगर क्षेत्र तर्फको सडक एकतर्फि सञ्चालन भएको प्रहरीले जनाएको छ । भत्किएको पर्खाल पन्छाउने कार्य भइरहेको छ । यसअघि वर्षाका कारण आज विहान ललितपुरमा एक रुख ढल्दा महानगरीय प्रहरी प्रभाग पुल्चोकको कार्यालयमा क्षति पुगेको थियो । अविरल वर्षापछि देशभरको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश स्थान जलमग्न भएको छ । पहाडी क्षेत्रमा पहिरो गएको छ भने केही घरहरुमा समेत क्षति पुगेको छ ।

Comments