रातिदेखिको वर्षाका कारण देशका विभिन्न भागमा खोला तथा नदीमा पानीको सतह बढ्दै गएपछि आवश्यकता सतर्कता अपनाउन सम्बद्ध जिल्लाहरुमा अग्रसरता देखाइएको पाइएको छ । बुधबारदेखि लगातार परेको वर्षाले प्रदेश २ को राजधानी जलनकपुरलगायत आठ वटै जिल्ला जलमग्न भएको छ । बारा, पर्सा, रौतहट, सिरहा, महोत्तरी, सर्लाही, धनुषा र सप्तरी जिल्लाका अधिकांश क्षेत्र ढुबानमा परेको छ । त्यस क्षेत्रको जनजिवन प्रभावित भएको छ भने सवारी सञ्चालन र आवतजावतमा समस्या भएको छ ।

वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताल, जनकपुरको प्रमुख चौक रामानन्द द्वार ९चौक०, मुख्यमन्त्री कार्यालय, धनुषाको जिल्ला प्रशासन कार्यालय जलमग्न भएको छ । साथै जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलाशयमा परिणात भएको छ ।

रौतहट जिल्लामा गएरातिदेखि लगातार पानी परेपछि भारतसँगको सीमा क्षेत्रमा लगाइएका कतिपय बाँधका ढोका खोलिदिन वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासलाई आग्रह गरिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बाँधको ढोका खोलीदिन वीरगञ्जमा रहेका भारतीय महावाणिज्यदूतलाई आग्रह गरेको बताए ।

विगत वर्षहरुमा बाँधले गर्दा बाढीको खतरा बढेको हो कि भन्ने अवस्था आएकोले अहिले शुरुमै भारतलाई भनिएको उनले जनाए । वागमतीको सतह बढीरहेका कारण सतर्क रहनुपर्ने अवस्था छ । सिरहामा कमला नदी नियन्त्रण आयोजनाको पानी नगरतिर छिरेकोले अहिले त्यसलाई फर्काउने काम भइरहेको छ ।

Comments