काठमाडौं २७ असार। त्रिभुवन विमानस्थल अहिले बन्द गरिएको छ । यती एयरको विमान धावनमार्गवाट चिप्लिएका कारण अहिले विमानस्थल बन्द गरिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) विमानस्थल बन्द गरिएको जनाएका छ । अफिसरका अनुसार साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको हो । यो अवधिभित्र चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ ।

यतिको जहाज अवतरणको क्रममा रनवेबाट ट्याक्सी वेमा पुगेको छ। अवतरणको क्रममा यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको छ। यात्रु तथा चालकदलका सदस्यहरु सकुशल उद्दार गरिएको छ । विमानस्थलमा रहेका एक पाइलटले दिएको जानकारी अनुसार, यतीको एटीआर ११ बजेर ५ मिनेटमा अवतरण भएको थियो। अवतरण लगत्तै चिप्लिएपछि अन्य उडान अवरतण पनि रोकिएका थिए।

सवा १२ बजेसम्मपनि जहाज निकाल्न नसकिए पुनः नोटामको समय लम्बिने जनाइएको छ। हाल बंगलादेशबाट आएको विमान भारतको दरभंगामाथिको आकाशमा होल्डमा फन्को लगाइरहेको छ भने दोहाबाट आएको कतारको जहाज भारततर्फ डाइभर्ट भएको छ। विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन्।

Comments