लगातारको वर्षाका कारण गोठ भत्किदा सिन्धुलीमा एक महिलाको ज्यान गएको छ । सिन्धुलीमा एक दर्जन घरमा क्षति समेत पुगेको छ । मंगलबार साँझबाट परेको अविरल वर्षासँगै आएको पहिरोले गोठ बगाउँदा सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेवडाँडामा एक ३५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गोठमाथिबाट आएको पहिरोले गोठ समेत बगाएको हो । गोठमा गाईभैसीलाई भाँस हाल्न गएकी ३५ वर्षकी हेमकुमारी सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । गोठमा पहिरो खसेपछि सुनुवारको गाई तथा बाख्राहरु समेत पुरिएका छन् । यस्तै, गोलन्जोर गाउँपालिका ३ भुवनेश्वरीमा पनि पहिरोले गोठ भत्काएको छ । त्यहाँ भने मानविय क्षति भने भएको छैन । गोठ भत्काउँदा निरबहादुर मगरको एउटा बाख्रो मरेको प्रहरीले जनाएको छ।

त्यस्तै कमलामाई नगरपालिका ३ चपौलीका इन्द्रबहादुर विकको दुई घरमा पहिरोले क्षती पुर्‍याएकोछ । यता सुनकोसी गाउँपालिका ७ मझुवाको ट्याङट्याङमा गोकुल भुजेलको घरपनि पहिरोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

Comments