भैरहवा : भारतबाट आयात भएका तरकारी र फलफूल बोकेका ट्रक सीमा नाकामा रोकिएका छन्। तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि मालवाहक गाडी सीमामा रोकिएका हुन्। सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि विषादी परीक्षण नभएका तरकारी र फलफूलका गाडी नाकामा रोकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार मन्त्रिरिषद्को असार १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। ‘सर्वोच्चको आदेशपछि भन्सार विभागको तत्कालको मौखिक निर्देशनमा विषादी परीक्षण विना तरकारी र फलफूलका गाडी छाडेका छैनौं’, पौडेलले भने।

उनले विषादी परीक्षण नभएकाले बिहीबार भारतबाट आएको कुनै पनि तरकारी र फलफूलका गाडी नछाडिएको जानकारी दिए। भारतबाट भैरहवा नाका हुँदै दैनिक ५०-६० ट्रक तरकारी र फलफूल भित्रिन्छन्। उनले अब भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेर विषादी नभएको तरकारी र फलफूल मात्रै बजारमा पर्‍याइने बताए। तरकारी र फलपूmलमा विषादी परीक्षणका लागि यसअघि यहाँबाट नमुना संकलन गरेर काठमाडौं पठाइन्थ्यो।

Comments