काठमाडौँ — धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार सहित दुईजना घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियारको टोलीले उनी र डा.रामहरी रौनियारलाई ८ लाख घूस सहित पक्राउ गरेको हो ।प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो। डा. रामहरी धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर रहेको बताइएको छ। उनी रौनियारका नातेदार समेत रहेको अख्तियार स्रोतले बतायो।

धरानमा प्रतिष्ठानका लागि करिब एक करोड रुपैयाँको भवन निर्माण हुँदै गरेको अख्तियार स्रोतको भनाई छ। उनीमाथि छानबिन भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। हेर्नुहोस् अख्तियारको विज्ञप्ति:

प्रेस  विज्ञप्ति :- मिति २०७६।०३।२६ गते / वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुस रकम सहित नियन्त्रणमा

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरु प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग रू.८,००,०००।– (आठ लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसर स्थित निज उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

प्रदीपकुमार कोइराला, प्रवक्ता

Comments